‘कोही घरको छानो छाउन त कोही सुनको बाला लाउन’ यस्तै आफ्ना चाहना पूरा गर्न भन्दै चार दशकभन्दा बढी समयदेखि बर्मेलीहरू थाइल्यान्ड पसेका छन्।
जीवन जिउनका लागि सपनाको भारी बोकेर यता आएका बर्मेली तीन लाख बढी छन्। यसैमध्ये ८० हजारभन्दा बढी बर्मेली–नेपाली थाइल्यान्डमा भएको तथ्यांक छ।
यसरी विदेशिएकामध्ये कतिपय यतैका बासिन्दा भइसके। कोही व्यापारमा लगानी गरेर बसेका छन्। धेरैजसो बर्मेलीहरू रोजगारी नै गर्छन्। थाइल्यान्डमा उमेर छउन्जेल पसिना बगाउँदा–बगाउँदै जब बुढेसकालले छुन्छ, त्यसपछि आफ्नै थलोको माया लाग्छ र मातृभूमि फर्कन्छन्।
कर्मथलो थाइल्याण्ड भए पनि जन्मथलोको माया कसलाई छैन र? आखिर आफ्नो पहिलो पाइला चालेको ठाउँ न हो। आफ्ना इष्टमित्र, बाल्यकालमा खेले, हुर्केको ठाउँ कसले रूचाउँदैन होला र। त्यसैले धित मरूञ्जेल काम गर्नेहरू हातगोडा बसेपछि बर्सेनी पुनः जन्मथलो फर्कने क्रम जारी छ। यसरी थाइल्यान्डले लाखौं बर्मेलीको भविष्य उज्यालो बनाएको छ।
विश्व मानव समाज कोरोनाको त्रासमा छट्पटिएको छ। महामारी रोग–कोरोनाले उठिबास लगाएर मान्छेलाई लखेटिरहेको दुःखद् बेलामा थाई–नेपाली संघले भने प्रशंसनीय काम गरिरहेको छ। भलै काेराेना महमारी अहिले कम भएकाे छ। समाजले बेरोजगारीको दैलोसम्म खाना पुर्याएर आफ्नो जाति बचाएको छ। यो काम आउने पुस्ताका लागि पनि अविस्मरणीय र प्रेरणादायी बन्नेछ।
हाउगुजीको रूप लिएको कोरोनाबाट बच्ने तरिका भनेको अहिलेम्मका लागि जो जहाँ छौं, त्यहीँ बन्दी भएर बस्नु हो। यतिबेला वैज्ञानिकले औषधि परीक्षण गरिरहेका छन्।
सायद अब धेरै समय नलाग्ला कि, यो आशा मात्र एक मन्त्र हो। जसलाई सम्झँदा पुरा भएको अनुभूति आधा–आधा भेटे झैँ लाग्ने हुन्छ। बन्दाबन्दीको परिस्थितिमा यतिखेर आफूलाई बाहिरिने ईच्छा हुनै नदिनु अमुल्य यन्त्र बनेको छ।
विश्वका अनेक देशलाई व्यवसायको मुहान खनिदिएको थाइल्याण्डमा कोरोनाले थर्काउँदा मान्छेहरू कोही व्यापार छोडेर घरभित्रै थुनिएका छन्। कोही जहान परिवार अलपत्र पारेर यात्रामा अड्किएका छन्। देशका विभिन्न ठाउँमा बन्दाबन्दीले रोजगार धेरैको रोकिएको छ। थाइल्याण्डबासी ठूला व्यापारीहरू कुनै–कुनै घरैबाट पनि काम गरिरहेका छन्। कता–कता नडराई बाहिर निस्केर आफ्नो पेसा सम्हालेका पनि भेटिन्छन्। यद्यपी मजदुरले सबैभन्दा बढी समस्या खेप्नुपरेको छ। उनीहरूको रोजीरोटी गुमेको छ। मान्छे–मान्छे भेला नहुनुको कारण उनीहरू सबैभन्दा पहिला कामबाट बाहिरिनु परेको छ।
‘मान्छे सामाजिक प्राणी हो। उसलाई एक्लै बाँचेर हुँदैन। चिन्ताजन्य कुरा एउटै छ कि! ए – मेरा युगका मान्छे हो! कोरोनाको हैजा सधैंभरि हुनेछैन। रासन नपुगे कहिले खोले खाऔं। एक छाक मकैं, एकछाक भोकै बसौँ। तर, बाहिर निस्केर रोगको सिकार नबनौं,’ यसरी चिच्याएर बोल्न मन छ।
आफ्ना युगका दौंतरिसँग एउटै गुनासो छ। कहिलेकाँही साथीसँग यही दोहोर्याएर भन्ने पनि गर्छु। हुँदाहुँदै बर्मामा पनि कोरोनाले ठाउँ ओगट्न थालेछ। गाउँघरका समाचारले यतिबेला मन चिथोर्छ। ‘पेप्यौं’ भन्दै उसिनेको गेडागुडी टाउकोमा भार गरेर झिसमिसेमा बर्मिज दिदीहरू आँगनमा आइपुग्थे। गृहिणीलाई तरकारी तयार बनाएर बेच्न आउनेको रोजगारी बसेछ। सुन्दा धेरै दुःख लाग्यो। अन्य फुरौला बेच्ने, जुत्ता सिउने अरू जाति पनि भरिया छन् – तिनीहरुको कामकाज थचक्कै बसेछ। यसरी महामारीको समस्याले मजदुरलाई सबैभन्दा पहिला दुःख दिएको छ। वास्तवमा मजदुर समाजका मेरूदण्ड हुन्। यसरी मेरूदण्ड, चोटमा परेर मासियो भने समाजको के नै अर्थ रहला र?