कर्णालीमा लकडाउन र भर्चुअल पुस्तक परिचर्चा

संसारभर फैलिएको कोरोना भाइरस (कोभिड –१९) को माहामारीका कारण धेरै देश लकडाउनको स्थितिमा छन्। कोरोना भाइरसको त्रासले मानिसको दैनिकी व्यापक फेरिएकाे छ। 

रातदिन घरभित्रकै बसाईंले जीवन असजिलो बन्दै गइरहेकाे छ। बाध्यताले गरिएका काम सजिलै भए पनि बोझिला हुन्छन्। समय समयमा थपिदै गरेको लकडाउनले बोझ पनि थपेको छ। यो एक खालको तनावमा परिणत हुने सम्भावना पनि उत्तिकै छ। 

लकडाउनले बढेको व्यक्तिगत दूरीले समाजिक दूरी बढ्ने सम्भावनाबारे बुद्धिजीजि बोलिरहेका छन्। यस्तो अवस्थामा व्यक्तिगत दूरी कायम राख्दै समाजिक ऐक्यवद्धता जनाउन अति जरुरी छ। यति बेला हरेक तह, तप्काका नागरिक मिलेर नै कोरोना भाइरसको महामारीबिरुद्ध लड्न आवश्यक छ।

देशले भोगिरहेको समस्यालाई मध्यनर गरि विभिन्न पेसा व्यवसायमा लागेका मान्छे सकेजति सृजनात्मक गतिविधि बढाई योगदान गरिरहेका छन्। सृजनात्मक कामका माध्यबाट हरेक मान्छेले आफ्नो असहज दैनिकीलाई सहज बनाउदै महामारीको सामना गर्ने सहास जुटाउने हो। 

देश लकडाउन भएलगत्तै ‘कर्णाली रिडर्स सोसाइटी’ले सृजनात्मक गतिविधिकै क्रममा आफ्नो फेसबुक पेजबाट ‘भर्चुअल पुस्तक परिपर्चा’ सुरु गरेको छ। ‘अध्ययन गरौं, ज्ञान बाँडौं’ नारा रहेको उक्त पेज देश लकडाउन लगत्तै सुरु गरिएको पेज संचालन समूहका सदस्य सचिन तिमल्सिनाले जानकारी दिए।

‘विश्व कोरोनाले आक्रान्त भइरहेको बेला नेपाल पनि अछुतो रहन सकेन। २०७६ चैत्र ११ गते देखि कोरोनाको थप संक्रमणबाट बच्न नेपाल पनि बन्दाबन्दीको अवस्थामा गयो। सबै जना घरमै बसेर मलिन भएका बेला चैत्र १६ गते कर्णाली रिडर्स सोसाइटी नामक फेसबुक पेज सुरु भयो। हरेकदिन कुनै न कुनै पुस्तक माथि चर्चा गर्ने निधो भयो। त्यसैदिन दिव्यराज खड्काद्वारा ‘द बुक थिप’ पुस्तक माथी चर्चा गरि भर्चुअल परिचर्चा सुरु भयो,’ उनले भने, ‘यसरी कोरोनाले सामाजिक दूरी बढायो। उक्त दुरीलाई कम गर्न यो सृजनशील कार्यको थालनी भयो। यसले अध्ययन गर्न प्रोत्साहन गर्ने र पाठकहरुलाई थप उर्जा दिने कुरा पुस्तक चर्चाका सहभागीको धारणा छ।’

देश लकडाउन भएपछि अत्यावश्यक काम परेको खण्डमा बाहेक घरबाहिर निस्कन मिलिरहेको छैन। लगातार लामो समयदेखि घरभित्रै बसिरहँदा समय व्यतित गर्न उत्तिकै गह्रो परिरहेको छ। घरभित्रै बसेर गर्नुपर्ने काम पनि धेरै नुहुँदा समय कसरी बिताउने भनि कर्णालीका केही पुस्तक प्रेमी युवाले यसैको विकल्पमा सुरु गरेको सृजनशील अभियान नै भर्चुअल पुस्तक परिचर्चा भएको बताउँछन् समूहका अर्का सदस्य विनोद शाही।  

‘सरकारले चैत्र ११ गतेदेखि लकडाउन घोषणा गर्‍यो। अवस्था भयावह हुँदै थियो। सुरुवातमा एक साताका लागि गरिएको लडकाउन लम्बिने संकेत देखिसकेको थियो। त्यसैले पनि यो बन्दाबन्दीको समयलाई केही रुपमा भए पनि सृजनशील बनाउन म, सचिन तिमल्सिना, दिव्यराज खड्का, पहल असिम र हरि उपाध्यायबीच अनलाइनमै सामान्य छलफल भयो, के गर्न सकिन्छ भनेर,’ उनले भने।

‘हामीले सोच्यौं, फेसबुक लाइभ मार्फत पुस्तक चर्चा गरौं। हरेक दिन एक जनाले कुनै एक पुस्तकमाथि समीक्षा गर्ने। अनि गत चैत १६ गतेदेखि यसको सुरुवात गर्‍यौं, कर्णाली रिडर्स सोसाइटीको फेसबुक पेज मार्फत। यो अहिलेलाई एउटा लुज फोरम हो। जसको संस्था भनेको एउटा फेसबुक पेज छ। सोही पेजबाट हरेक दिन पुस्तक चर्चा हुन्छ। आजसम्म २७ जनाले विभिन्न २७ पुस्तकमाथि समीक्षा गरिसक्नु भयो। फेसबुक पेजमा करिब ४६ हजार भन्दा बढीले रिभ्युहरुलाई हेरिसकेका छन्। धेरैले राम्रो भएको प्रतिक्रिया दिएका छन्।’ 

भर्चुअल पुस्तक परिचर्चाबारे उनको मत छ –‘लकडाउनको परिस्थितिमा समय बिताउने सबैभन्दा उपयोगी माध्यम पुस्तक हुन सक्छ। तर एक्कासी लकडाउन हुँदा सबैसँग पुस्तक पनि छैनन्। पुस्तक भएकाहरुसँग पनि पढ्नका लागि नयाँ पुस्तक नहुन सक्छन्। यस्तो बेला अरु कसैले आधा–एक घण्टा कुनै पुस्तकमाथि चर्चा गर्दा त्यसलाई हेरेर–सुनेर भएपनि अध्ययनको भोक मेट्न सकिन्छ। त्यसैले पनि यो उपयोगी भइरहेको छ। एकातिर पुस्तक चर्चा सुनेर त्यो समय पनि व्यतित भइरहेको छ भने अर्को तर्फ नयाँ नयाँ पुस्तक र त्यसभित्रको विषयवस्तुबारे जानकारी पनि पाइने। लकडाउनको बेला अरु के चाहियो?’

कर्णाली रिडर्स सोसाइटीले सुरु गरेको पुस्तक परिचर्चाले पाठकलाई मात्र होइन लेखकलाई पनि तानेको छ। यो अभियान लेखक र पाठकबीचको सुमधुर सम्बन्ध स्थापित गर्ने माध्यम भएको मान्छिन् ‘एक जुवा घाम’ कविता संग्रहकी स्रष्टा सुनिता राई कन्दङ्वा।

उनी भन्छिन्, ‘सर्वप्रथम ‘कर्णाली रिडर्स सोसाइटी’ लाइ बधाई तथा धन्यवाद दिन चाहन्छु। यति राम्रो कार्यको सुरुवात गर्नु भएकोमा। यो साँच्चै प्रसंसनीय छ। स्रस्टा र पाठकबीच सुमधुर सम्बन्ध कायम गर्ने अभियानको नारा पनि कति राम्रो, ‘अध्ययन गरौँ ज्ञान बाढौं’। यहाँहरुको यो अभियान जारी रहोस् शुभकामना।’

उनी आफ्नो कविता सङ्ग्रह ‘एक जुवा घाम’ बिक्रिबाट आएको रकम चितवनका बिकट गाउँमा अध्ययनरत साना भाइबहिनीहरुलाई दिने तयारीमा जुटेकी छिन्। उनले साहित्यलाई परोपकारसँग जोडेर अगाडी बढाउने सुरुवात गरेकी छिन्। जुन निकै प्रशंसनीय छ भने यसबाट पाठक पनि उत्साहित हुनेछन्। 

कर्णाली रिडर्स सोसाइटीले लेखक, पाठक र पुस्तक परिचर्चा गर्ने, हेर्ने सबैको ध्यान खिचेको छ। धेरैमा आशा जगाएको छ। कर्णालीलाई सत्ताको नजरबाट हेर्दा पिछडिएको देखिए पनि, जनस्तरबाट हेर्दा कालो बादलमा चाँदीको घेरा हुन्छ भनेजस्तै आशा पलाउन थालेको बताउँछन् जुम्लाका दिपेश जलन। 

‘कर्णालीमा पनि नोभेल प्रतिभा जन्मिने जग सुरु भएको छ। यसले केही वर्षमा सार्थकता पाओस्। म कर्णालीका प्रतिभा प्रति निकै आशावादी छु। तपाईहरु यो क्षेत्रमा दखल राख्ने भरपुर सम्भावना भएका कर्णालीका गहनाहरु हो,’ पुस्तक परिचर्चाकै सन्दर्भलाई लिएर उनी भन्छन्, ‘अब कर्णाली बारे लेखन, अध्ययन र कर्णालीको साहित्यको उचाईलाई बढाउन तपाईहरुको काँधमा जिम्मेवारी थपिएको छ। आशा छ, अबको मदन पुरस्कार पनि कर्णालीले नै पाउने छ।’

विभिन्न ठाउँमा भइरहेको लकडाउन उल्लंघन र ज्यालादारी मजदुरहरुले खाली खुट्टा हजारौं किलोमिटरको दूरी पार गर्नुले सम्भावित खतराको घण्टी बजेको छ। संकटले सर्बहाराको देश नहुने देखाएको छ। स्थानीय र प्रदेश सरकारले उद्दारको नाममा गरेको अव्यवस्थित भीडले विपतका बाछिटा गाउँसम्म पुगाउने सम्भावना बढेको छ।

सरकारले सम्भावित जोखिमको सामना गर्ने साहस जुटाउने र नागरिकले अनुशासन कामय गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरि नाम चलेका व्यक्ति तथा सामाजिक संस्थाहरुले आ–आफ्नो ठाउँबाट सकारात्मक भूमिका निभाउनु अति नै जरुरी रहेको छ। यसरी लकडाउनमा पनि दिमागको ढोक खुल्लै राख्न गतिलो माध्यम भएको छ, भर्चुअल पुस्तक परिचर्चा। 

‘खासमा पुस्तक प्रेमीहरुलाई लकडाउनको यो समयमा पुस्तकको तलतलले सताउने अवस्था नरहोस् भनेरै फेसबुक लाइभ मार्फत पुस्तक चर्चा सुरु गरिएको हो। सबैतिरबाट राम्रो प्रतिक्रिया आइरहेको छ। यसलाई निरन्तरता दिन सुझाव आइरहेको छ। त्यसैले लकडाउन अवधिभर यसले हरेक दिन निरन्तरता त पाउँछ नै, त्यसपछि पनि हरेक हप्तामा एक पटक यसलाई सञ्चालन गर्ने सोच बनाएका छौं,’ शाहीले उत्साहित हुँदै भने। 

 

प्रकाशित मिति: : 2020-04-25 06:59:00

प्रतिकृया दिनुहोस्