कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि पैदलै भए पनि हिँडेर आफ्नो थातथलो फर्किने क्रम बढेको छ ।
सोही क्रममा यहाँका विभिन्न स्थानीय तहले काठमाडौंंबाट बसमा सर्वसाधारण ओसार्न थालेपछि स्थानीय प्रशासनले रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले लकडाउनको उल्लङ्घन हुनेगरी काठमाडौंबाट बसका बस यात्रु ओसार्न थालिएपछि रोक लगाइएको जानकारी दिए। 'लकडाउन भनेको जो जहाँ छ, त्यही बस्ने हो, तर स्थानीय निकायले बसबाट बस मान्छे ओसारेपछि लकडाउनको के अर्थ रह्यो र ?', उनले भने।
यसअघि जिल्लाको लालबन्दी, हरिवन र वाग्मती नगरपालिकालगायत जिल्लास्थित विभिन्न स्थानीय निकायले काठमाडौं बस पठाएर सर्वसाधारणलाई जिल्ला भित्र्याइरहेका थिए । हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाईंले स्थानीय प्रशासनबाट काठमाडौंमा बसेका सर्वसाधारण बसमा ओसार्न रोक लगाइएको आरोप लगाए।
यसअघि विभिन्न सवारी साधनको प्रयोग गरी जिल्ला बाहिर रहेका आफ्ना नागरिकलाई स्थानीय निकायले जिल्ला भित्र्याएका थिए ।