अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्यायो, अब सांसद ‘अपहरण’ गर्नेलाई कारवाही हुनुपर्छ : विश्वप्रकाश

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले सोमबार जारी भएका राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश फिर्ता लिने निर्णयको प्रमुख प्रतिपक्षी दल कांग्रेसले स्वागत गरेको छ। 

कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्माले सरकारले बेलैमा अध्यादेश फिर्ता लिएर गल्ती सच्याएको बताएका छन्। उनले भने,‘दुवै विवादित अध्यादेश फिर्ता लिएर गल्ती सच्याएको छ, अब अपहरण शैलीमा सांसद उठाउने कर्ममा संगलग्नलाई कारवाहीको प्रतीक्षामा छौं।’

उनले अब सम्पूर्ण ध्यान र शक्ति कोरोनाविरुद्धको संघर्षमा केन्द्रित गर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रहसमेत गरेका छन्। उनले ट्वीटमा भनेका छन्, ‘पहिले नागरिककको जीवन जोगाऔं फुर्सदमा राजनीतिक विवाद गरौंला।’

भैँसेपाटीमा बिहीबार बसेको नेकपा सचिवालयका शीर्ष नेताहरुको बैठकले अध्यादेश फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको थियो। यता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का नेता माधव कुमार नेपालसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिन तयार भएकाे एक मन्त्रीले बिएल नेपाली सेवालाई बताए।

सरकारले यही वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो। ती अध्यादेश सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन गर्दा केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत सदस्य भए पुग्ने र  संवैधानिक परिषद्को गणपूरक संख्या घटाउने व्यवस्थासहितका दुई अध्यादेश  प्रमाणित गरेर राजपत्रमा प्रकाशित गरेकी थिइन्।

ती दुई अध्यादेशले राजनीतिक दललाई विभाजन गर्न सजिलो हुने र संवैधानिक आयोगमा नियुक्ति गर्दा प्रमुख प्रतिपक्षी दलका नेतालाई बाहिर राख्ने भन्दै चर्को आलोचना भएको थियो।

यता पार्टी फुटाउने उद्देश्यले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर सरकारले अस्थीरता निम्ताउन खोजेको र प्रतिपक्षी दलको नेताविना संवैधानिक परिषदले निर्णय गर्न सक्ने व्यवस्था गरेर संविधानको मर्म विपरीत सरकार हिँड्न खोजेको भन्दै नेकपाभित्र र बाहिर पनि आलोचना भइरहेको छ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था छ।

अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्यायो,अब अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कार्वाहीको प्रतीक्षामा छ देश !@Pm_Nepal जनताको तर्फबाट आग्रह छ अब सम्पुर्ण ध्यान र शक्ति कोरोना विरुद्धको संघर्षमा केन्द्रित गरौं l पहिले नागरिकको जीवन जोगाऔं फुर्सदमा राजनैतिक विवाद गरौंला

— Bishwa Prakash शर्मा (@bishwaprakash77) April 24, 2020
प्रकाशित मिति: : 2020-04-24 14:40:59

प्रतिकृया दिनुहोस्