अमेरिकामा कोरोनाबाट मर्नेको संख्या ५० हजार कट्यो, चौथो राहत प्याकेज स्विकृत

कोरोना भाइरसका कारण अमेरिकामा मर्नेको संख्या ५० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ७१ जनाको ज्यान गएपछि यो संख्या कटेको हो। पछिल्लो २४ घण्टामै संक्रमणको २५ हजार ९० घटना अगाडी आएको छ। 

विश्वव्यापी रूपमा कोरोनाका कारण १ लाख ९१ हजार ७४ जनाको निधन भइसकेको छ। हालसम्म २७ लाख २६ हजार २ सय ७४ संक्रमित भेटिएका छन् भने ७ लाख ४९ हजार ६ सय ६६ जना पूर्णरूपमा ठिक भएर घर फर्किसकेका छन्। 

अमेरिकामा कोरोनाको ८ लाख ८६ हजार संक्रमित देखा परेका छन्। ‘लकडाउन’ का कारण २६ लाख मानिस बेरोजगार भएको, त्यसैले यसलाई हटाउन मागसहित न्युयोर्कमा विरोध प्रदर्शन सुरु भएको छ। 

तर, न्युयोर्कका मेयर बिल डे ब्लेसियोले मे महिनाको अन्त्यसम्म कुनै निर्णय नहुने बताएका छन्। न्युयोर्क सहर सबैभन्दा प्रभावित छ। 

अमेरिकी संसदले कोरोनासँग लड्न शुक्रबार फेरि ४ सय ८४ बिलियन डलरको राहत प्याकेजलाई स्विकृति दिएको छ। यसमा मन्दीबाट चलिरहेका साना व्यापारीलाई कर्जा प्रभाव गर्न सहज पर्ने तथा अस्पतालमा कोरोना संक्रमितको टेस्ट गर्ने कार्यलाई बल पुग्ने बताइएको छ। अमेरिकी सरकारको यो कोरोनाविरूद्ध चौथो राहत प्याकेज हो। 
 

प्रकाशित मिति: : 2020-04-24 13:43:58

प्रतिकृया दिनुहोस्