करिब डेढसय वर्षदेखि नेपालको सान बनेको भीमसेन स्तम्भ, जसलाई सर्वसाधारणले धरहराको नामले चिन्ने गर्थे, पाँच वर्षअघि ग्वाल्र्याम–गुर्लुम्म ढल्यो। विश्व सम्पदा सूचीमा रहेको काठमाडौंको बसन्तपुर, रानी पोखरी, भक्तपुरको दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, बौद्धनाथ र स्वयम्भूनाथ स्तुपा पनि नराम्ररी हल्लिए।
गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर आजकै दिन गएको विनाशकारी भूइँचालोका कारण पुरै देश त्राहिमाम भयो। यो घटनामा करिब ८ हजार ८ सय ५७ नेपालीले ज्यान गुमाए। २२ हजार ३ सय ४ घाइते भए। विश्वको उच्च हिमाल सगरमाथा आधार क्षेत्रमा मात्र एकै पल्ट २१ जनाले ज्यान गुमाउनु पर्यो, जुन हिमश्रृंखलाको इतिहासमै सबैभन्दा खराब दिन मानिन्छ।
विश्वले सम्झिने र नेपालको अहिलेको पुस्ताले सबैभन्दा बढी याद गर्ने महाभूकम्प आजकै दिन ११ बैशाख २०७२ मा ११ बजेर ५६ मिनेटमा गएको थियो। यसले नेपाली अर्थतन्त्रलाई मात्र धरासायी बनाएन, नेपालको थुप्रै पुरानो सभ्यताको कडी बनेको मठमन्दिर, पुरातात्त्विक महत्वको आधारशीला सबै भताभूङ्ग बनायो।
यो घटनाबाट बाहिर निस्किन नेपालीलाई बर्षोदिन लाग्यो। अहिले पनि नेपालको विभिन्न क्षेत्रमा भूइँचालोले भग्नावशेष पारेको खण्डहर देख्न पाइन्छ। पुरातात्त्विक महत्व बोकेको काठमाडौंको बसन्तपुर, भक्तपुरको दरबार स्क्वायर र पाटन दरबार स्क्वायर पूर्णरूपले तग्रिन पाएका छैनन्।
धरहरा धमाधम बनिरहेको छ। काठमाडौंका पुरानो गल्लीहरुमा रहेका घर अझैं काठको टेकेको भरमा आफ्नो अस्तित्वसँग लडिरहेका छन्। राजनीतिक खिचातानीका बीच भूइँचालो गएको तीन वर्षसम्म कुनै काम हुन नसकेको नेपालमा विगत वर्षदेखि पुर्ननिर्माणको कामले तिब्रता पाएको थियो। तर, विश्वव्यापी रूपमा हाल फैलिएको कोरोना भाइरसको संक्रमणको डरका कारण विगत एक महिनादेखि कुनै काम भएको छैन। देश पुरै ‘लकडाउन’ को अवस्थामा छ भने यति बेला नागरिकलाई भूइँचालोको सम्झनाले भन्दा कोरोनाको कहरले झस्काएको छ।
त्यति बेला पुरै नेपाली घर छोडेर बाहिर निस्किन बाध्य भएका थिए। कोरोनाका कारण अहिले नेपालीहरू घरभित्रै थुनिएर बस्न बाध्य छन्। बाटो, बारी र खाली चौर सुनसान छन्।
अमेरिकी भूगर्भविद्का अनुसार २०७२ सालमा ७ दशमलव ८ रेक्टर स्केलको भूइँचालो गएको थियो। यसले करिब २० अर्ब डलर बराबरको क्षति पुर्यायो। १९९० सालको भूइँचालोको याद दिलाउने यो भुकम्पबाट काठमाडौं उपत्यका मात्र होइन, जनकपुरको जानकी मन्दिर, गोरखाको मनकामना मन्दिर, काभ्रेको पलान्चोक भगवती, पाल्पाको रानी महल, मकवानपुरको चुरियामाई, दोलखाको दोलखा भिससेनथान र नुवाकोट दरबार पनि क्षतिग्रस्त भएको थियो।