यी हुन् उपचारपछि निको हुने सात कोरोना सङ्क्रमित

नेपालमा अहिलेसम्म ४५ जनालाई कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ। बुधबार थप ३ जनालाई सङ्क्रमण भएको पुष्टि भएसँगै संक्रमितको संख्या ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सङ्क्रमित ४५ मध्ये सात जना भने उपचार पछि घर फर्किएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार आजै दुई जनालाई डिस्चार्ज गरिएको हो। मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार सेती प्रादेशिक अस्पतालमा उपचाररत ४० वर्षका एक जना १९ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका हुन्। यस्तै साेही अस्पतालमा आइतबार २१ वर्षीय युवक १६ दिनमा कोरोनालाई जितेर डिस्चार्ज भएका थिए।

यस्तै धनगढी उपमहानगरपालिका– ५ का ३४ वर्षीय पुरुषको रिपोर्ट नेगेटिभ आएपछि उनलाई २९ दिनपछि मंगलबार घर पठाइएको सेती अञ्चल अस्पतालका डा‍‍‍. जगदिश जोशीले जानकारी दिए । 

त्यसैगरी शनिबार मात्र बागलुङको धौलागिरी अस्पतालमा १८ दिनदेखि उपचार गराइरहेकी ६५ वर्षीय महिला पनि घर फर्किएकी छिन्।

यस्तै, काठमाडाै‌ंको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत अर्का प्रसिद्धि श्रेष्ठ पनि डिस्चार्ज भएकी छिन् । धादिङका ३२ वर्षका सङ्क्रमितको तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएको र डिस्चार्ज गरेको मन्त्रालयले जनाएको छ। उनी गएको चैत ६ गते दुबईबाट नेपाल आएका थिए।

यस्तै यसअघि गत माघमै चीनबाट आएका पहिलाे संक्रमित पनि टेकुबाटै घर फर्किएका छन्।

प्रकाशित मिति: : 2020-04-22 17:44:47

प्रतिकृया दिनुहोस्