मिश्र र देउवाबीच टेलिफोन वार्ता, सरकारकाे कदमविरुद्ध मोर्चा बनाउन‌े तयारी

बिएल संवाददाता

काठमाडाै‌ं

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई टेलिफोन गरी संसद भित्र र बाहिरका दल समेटेर मोर्चा बनाउन आग्रह गरेका छन्।

बुधवार विहान आफूले प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेको जानकारी दिँदै उनले सरकारले ल्याएका अध्यादेशकाविरूद्ध डिजिटल अभियान चलाउन, संसदभित्र र बाहिर रहेका दलको संयुक्त मोर्चा निर्माण गर्न र संघीय संसदको बैठक बोलाउन छलफल गरेको बताए।

मिश्रले उच्चस्तरीय संयन्त्र आवश्यक रहेको पनि देउवासँग बताएका थिए।

‘मैले उहाँलाई साझा पार्टीले केही समयअघि सुझाएजस्तो प्रधानमन्त्रीको नेतृत्वमा तपाईं समेत सामेल भएर उच्चस्तरीय संयन्त्र निर्माण गरेको भए संभवतः अहिले यो स्थिति नआउन सक्थ्यो,’ उनले भनेका छन्, ‘अबको परिस्थितिमा चाहिँ यहाँलाई म मूलरूपमा दुईवटा विषयमा जोड दिन चाहन्छु।’

मिश्रले पहिलो, सरकारले ल्याएका घातक अध्यादेशकाविरूद्ध एक जुट हुन संसदभित्रका मात्र होइन संसद बाहिर रहेका दलहरू पनि जोडेर मोर्चा बनाउन अग्रसरता लिन आग्रह गरेका छन्। 

‘संसद बाहिर रहेका दलहरू पनि जोडेर मोर्चा बनाऔँ। त्यसबाट अलि व्यापकस्तरको दबाब सृजना गरौँ। अन्यथा, अरूलाई खाने बाघले एकदिन कसैलाई पनि खान सक्छ,’ उनले भनेका छन्।

त्यस्तै उनले सुरक्षा प्रोटोकलको व्यवस्था गरेर तुरून्तै संघीय संसदको बैठकका लागि आवाज उठाउन माग गरेका छन्। ‘सुरक्षा प्रोटोकल कायम गरेर मन्त्री परिषदको बैठक हुन सक्छ। यो राष्ट्रिय संकटका बेला संघीय संसद बस्न नसक्ने अवस्था छैन,’ मिश्रले भने।

यस्तै उनले संसदको अधिवेशनको हकमा आफूलाई अलिकति सुरक्षा चिन्ता भएको सभापति देउवाले गुनासो गरेको बताए।

‘देउवाले संसदबाहिरका दललाई पनि सामेल गराउने कुरा म साथीहरूसँग सल्लाह गर्छु भन्नुभयो,’ मिश्रले भने,‘ संसदको अधिवेशनको हकमा आफूलाई अलिकति सुरक्षा चिन्ता भएको बताउनु भयो। तर त्यसबारे पनि साथीहरूसँग छलफल गर्ने उल्लेख गर्नुभयो।’

वर्तमान परिस्थितिमा ती दुबै काम गर्नु राम्रो हुने उनको निश्कर्ष रहेको बताए।

प्रकाशित मिति: : 2020-04-22 14:54:58

प्रतिकृया दिनुहोस्