प्रचण्डलाई अगाडि राखेर प्रधानमन्त्रीले सांसद्लाई दिए अध्यादेशबारे टीकाटिप्पणी नगर्न निर्देशन

काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत अगाडि राखेर सरकारले राष्ट्रपतिबाट जारी गरेका दुई अध्यादेशबारे टीकाटिप्पणी नगर्न संघीय सांसद्हरुलाई निर्देशन दिएका छन्।

पार्टी स्थापना दिवसको अवसरमा बालुवाटारमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरूसँग प्रदेशस्तरीय समूहमा छलफल गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । 

सुदूरपश्चिम प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपा सांसदहरुसँग छलफलको थालनी गर्दै ओलीले सरकारले अध्यादेश आवश्यक भएरै ल्याएको बताए । प्रधानमन्त्रीले भनेका थिए, ‘अध्यादेश आवश्यक भएर नै ल्याइएको हो। यो संविधान र कानुनसम्मत छ। केहीले यसलाई उचाल्न खोजेका छन्। तपाईंहरु यसको टिकाटिप्पणी गर्न तिर नलाग्नुहोस्। सरकारले बुझेरै काम गरिरहेको छ।’ प्रधानमन्त्रीले यस्तो निर्देशन दिइरहँदा प्रचण्ड उनको अगाडि सुनेर बसिरहेका थिए । 

सुदूरपश्चिम प्रदेशबाट शुरू भएको छलफल प्रदेश नं १ र वागमती प्रदेश हुँदै क्रमशस् सातवटै प्रदेशका सांसदहरूसँग आज र भोलि गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनका अनुसार जारी अध्यादेश र कोरोना भाइरसविरूद्ध जारी लकडाउन लगायतका विषयहरूमा सांसदहरूलाई स्पष्ट गर्न यसरी छलफल गरिएको हो।

ओलीले सुरुमै अध्यादेश असल उद्देश्यले लोकतान्त्रिक प्रणालीलाई सबल बनाउन ल्याएको बताएका थिए । राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ बारे पहिलेदेखि नै अरु दलसँग पनि छलफल भएको बताए । 

संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि) सम्बन्धी  (पहिलो संशोधन) अध्यादेश, २०७७ रिक्त  संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सहज होस् भन्ने उद्देश्यले ल्याएको ओलीले बताएका थिए । जारी अध्यादेश संविधान ऐन कानुन अनुसार नै सरकारले आवश्यक परेर ल्याएको पनि बताएका थिए।

ढिलो गरी पुगेका अध्यक्ष प्रचण्डलाइ केही बोल्नु छ कि भनेर सोध्दा उनले पछि बोल्ने भन्दै टारेका थिए । ओलीले करिब डेढ घण्टा अध्यादेश, कोरोना संक्रमणबारे ब्रिफिङ गरिरहँदा दाहाल भने सुनेर मात्र बसेका थिए।

प्रकाशित मिति: : 2020-04-22 14:53:41

प्रतिकृया दिनुहोस्