थाइल्यान्ड डायरीः लकडाउन भित्रका मेरा दिन

कोरोना थर्काउँदै आएपछि विश्वका ठूला साना देशहरू  लकडाउनमा छन्। म पनि थाइल्यान्डमा जागिर खाने एक बर्मेली नेपाली नागरिक हुँ। महिना दिन अघिदेखि यहाँको सरकारले डकडाउन गरेसँगै बजार पसल बन्द छन्।

रेस्टुरेन्टले डेलिभरिमात्र दिने भए। मार्केटमा सुनसान छायो। यो कोरोना नामक भाइरसले सिङ्गो संसारलाई  दुःख दिईरहँदा विदेशीकै भरोसामा चलेको यहाँका काम र व्यावपार व्यवसाय चौपट भएको छ। पर्यटकको आवागमन बन्द भएसँगै यहाँका होटलहरू बन्द छन्।

यस्तो हालतमा बर्मा (म्यान्मार) बाट रोजगारका लागि आएका मजस्ता नेपालीहरू आ-आफ्नो डेरामा थुनिएका छौं। कामकाज नभएपछि जरूरी अन्न पानी लिनबाहेक बाहिर कोही निस्कदैनन्।

यो बेला आफ्नै देश, घरमा भएको भए अलिक सुविधा हुने थियो। हामी विदेशीलाई यहाँ पानीसम्म किनेर पिउनुपर्छ। डेराको भाडा दिनैपर्‍यो। काम व्यापार भएको भए डरको सामना गरेर भए पनि काममा जान पाइन्थ्यो तर सबै ठप्प छ के गर्ने?

पासपोर्टमा भिसा लगाउनैपर्ने। समयमा लगाउन नपाएकाहरू प्रहरीबाट बँचेर बस्नुपर्छ। यसैमा पनि कयौं दुःख झेलेर बसेका परदेसीलाई झनै महामारीले थिलथिलो पारेको छ।

यस्तै यस्तै आफूजस्ता घर छोडेर आएका मानिसको हालत र दुःख सम्झिएर सँधै मन रून्छ मेरो पनि। तर के गर्नु ‘दुनियाँको जस्तो हाल आफ्नो पनि त्यस्तै’ भनेझैं हरेक दिन अन्डा र भात खाएर भए पनि आफूलाई यो भाइरसबाट जोगाउनुपर्छ। आफ्नो परिवारलाई र सिङ्गो विश्वलाई जोगाउनुछ।

साहित्यमा रूची राख्ने मान्छे म। हिजोआज समय नै समय छ। तर आफ्नै घर परिवार बिना एक्लो बस्नुपर्दा आफूलाई मोटिभेट राख्न अलिक गाह्रो हुँदोरहेछ।

दैनिक साहूँको काम गर्नुभन्दा गाह्रो भएजस्तो हुने। एक्लै रूममा बस्नु, पकाउनु, खानु र एक्लै समय बिताउनु धेरै गाह्रो भएको छ। जरूरी काम परे मात्र डेराबाहिर निस्कन पाइन्छ। नत्र दुई तीन दिनसम्म डेराबाहिर पाइला पर्दैन।

काम बिनाको समयमा मन चन्चल हुनु हरेक युवाको समस्या हो कि! खै साह्रै गाह्रो छ, मन सम्हालेर बस्न। जेनतेन हप्तादिनमा एकचोटि साथीसँग भेट्ने र किताब  साटासाट गर्ने गरिन्छ। डेरा बाहिर निस्किए पनि सरकारले घोषणा गरेको नियम पालना गर्छु। मास्क लगाउने, जहाँ सुविधा हुन्छ त्यहीँ सेनिटाइजर अथवा साबुन पानीले हात धुने गरिरहन्छु। मान्छेको जमातमा जाने कुरै छैन।

बाटाघाटामा देखिएका मानिससँग परैबाट तर्किने गरेर आफूलाई जोगाउने कोशिस गरेको छु। डेरामा पनि केही समय किताब पढ्ने, केही समय अनलाइन हेर्ने बिना टाइममा खाने, बिनाटाइममा सुत्ने गरेर बिताइन्छ।

प्रकाशित मिति: : 2020-04-22 15:15:00

प्रतिकृया दिनुहोस्