कोरोना नामक चिनियाँ भाइरस कोभिड—१९ ले अन्तसम्म विश्वभर कुन–कुन सरकार र सरकारप्रमुख तथा तिनका सहयोगीको नैतिकताको पर्दा उघार्ला त्यो भने हेर्न बाँकी नै रह्यो। तर, नेपालका सन्दर्भमा भने कोभिड—१९ ले महामारीको प्रारम्भमै नेपाल सरकारको नैतिकताको जामा उतारिदिएको छ। सन् २००३ मा अमेरिकाको संघीय विपत् व्यवस्थापनको प्रमुख भएर काम गरेका माइकल डि ब्राउन सन् २००५ सम्म पनि टिक्न सकेनन्। जब सन् २००५ मा भुमरीको भयावह भयो, भुमरीपीडितका लागि कुनै कार्यक्रम ल्याउन सकेन, सँगै आलोचनाको वेग पनि थाम्न नसकी पद त्याग गर्न पुगे। आज नेपाल सरकारको काम गर्ने तरिका पनि माइकलकै जस्तो छ। लोक र लाजको अलिकति पनि हेक्का नराखी विश्व समुदायझंै नेपाली जनता पनि लकडाउनमै रहेका बेला जनताका नाममा गरिने उपचारका बहानामा भएको स्वास्थ्य सामग्री खरिदप्रकरणमा ढिलासुस्ती र भ्रष्टाचारका कारण जनतामा मुखै देखाउन नसक्ने बनाइदियो। तर, सरकार यी विषयवस्तु उठाउने सञ्चारमाध्यम र आलोचकलाई दुस्मनकै शैलीमा द्धेषपूर्ण टिप्पणी गर्दैछ !
मानव अस्तित्वसँग जोडिएर आएको कोभिड—१९ नामक चिनियाँ भाइरसबाट उत्पन्न परिवेशलाई अर्थोपार्जनको माध्यम बनाउन सरकारका केही प्रभावशाली व्यक्ति र केही सल्लाहकार लागि परेको विषय अब लुकेन। भ्रष्टाचारीको मुखै हेर्दिन भन्ने प्रधनमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य सेवा विभागका लेखा प्रमुख केशव प्रसाईको सरुवा वा विवादास्पद व्यापारी कम्पनी ओम्नी समूहले कालोसूचीमा परेलगत्तौ समेत भुत्ताmानी पाएको विषयको जानकारी छैन भन्न मिल्दैन। यो विषयको पनि जानकारी प्रधानमन्त्रीलाई हुँदैन भने उनलाई के विषयको जानकारी होला ? प्रधानमन्त्रीको कानमा पर्नै पर्ने गरी एउटा बालक अवस्थामा हामीलाई तर्साउन रचिएको कथा प्रस्तुत गरांै – राती समयमा ननिदाउँदा वा बालापनको समयमा ज्यादा चकचक गर्दा हामीलाई मुर्कट्टाको कथा सुनाइन्थ्यो। कथाका अनुसार मुर्कट्टाको टाउको हुँदैन रे, पछाडि फर्केर हिँड्छ रे, अनावश्यक चकचक गर्दा केटाकेटीलाई लैजान्छ रे आदि इत्यादि। आज एकातिर भ्रष्टाचारीको मुखै हेर्दिन भन्ने प्रधानमन्त्री र अर्कातिर भ्रष्टाचारी मन्त्री, व्यापारीदेखि सल्लाहकारका नाममा नजिक रहेको भिड उनकै वरिपरि फनफनी घुमिरहने ! अब प्रश्न उठछ – भ्रष्टाचारीको मुखै हेर्दिन भन्ने प्रधानमन्त्रीछेउ पनि हामीलाई तर्साउन कथामा भनिएजस्तो टाउको मुख केही नभएका मुर्कट्टा त छैनन्, जो इमान र जमानको टाउको नै लुकाएर भ्रष्टाचारमा तल्लीन रहिरहने ? सँगै अर्को यक्ष प्रश्न भ्रष्टको मुखै नहेर्ने प्रधानमन्त्री स्वयंलाई ऐनासमेत देखाइदिने कसको हिम्मत।