सरकारको कदमविरुद्ध एकतावद्ध हुन यादवको अनुरोध

बिएल संवाददाता

काठमाडाै‌ं

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारले चालेको कदमलाई ‘गैरलोकतान्त्रिक’ को संज्ञा  दिएका छन्। उनले सरकारको कदमकाविरुद्ध एकतावद्ध हुन आमजनसमुदाय तथा लोकतान्त्रिक शक्तिहरुसँग अनुरोध पनि गरेका छन्।  

सरकारले ‘राजनीतिक दल सम्बन्धी (दोश्रो संशोधन) अध्यादेश, २०७७ र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ मार्फत् कानूनहरु संशोधन गरेको छ।  त्यसलाई अध्यक्ष यादवले विज्ञप्ति जारी गरेर राजनीतिक पार्टीहरुलाई सत्ता शक्ति, पद र आर्थिक चलखेल गरी फुटाउने षड्यन्त्रका रुपमा अध्यादेश ल्याएको दावी गरेका छन्। 

उनले अन्य मुलुकहरुसँगै नेपाल पनि कोरोना भाइरसबाट आक्रान्त भई नेपाली जनता लकडाउनको पीडा भोगिरहेको अवस्थामा राजनीतिक पार्टीहरुलाई सत्ता–शक्ति, पद र आर्थिक चलखेल गरी फुटाउने षड्यन्त्र गर्न अध्यादेश ल्याइएको दावी गरेका छन्। 

यो अध्यादेशले देशमा राजनीतिक अस्थिरता र लोकतन्त्रलाई समाप्त पारी देशलाई ठूलो दुर्घटनामा पार्ने उल्लेख गर्दै उनले नेपाली जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त सङ्घीयता, लोकतन्त्र, गणतन्त्र र समावेशीतालाई धरापमा पार्ने र सिंगो मुलुकलाई नै द्वन्द र अस्थिरतातर्फ धकेल्ने दावी गरेका छन्। 

सरकारले ल्याएको अध्यादेश लोकतन्त्र र संविधानको मर्म र भावनाका प्रतिकूल हुनुका साथै देश र जनताको हितविरुद्ध रहेको पनि उनले आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन्।

प्रकाशित मिति: : 2020-04-21 14:54:53

प्रतिकृया दिनुहोस्