पाकिस्तानी प्रधानमन्त्री खानद्वारा स्वअनुशासनमा बस्न आग्रह

बिएल संवाददाता

काठमाडाै‌ं

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देशवासीलाई स्वअनुशासनमा बस्न आह्वान गरेका छन् ।

कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या बढेर आठ हजार ४८१ पुगेपछि प्रधानमन्त्री खानले सोमबार थप सतर्कताका लागि आह्वान गरेका हुन्। 

सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘आम नागरिकले स्वअनुशासन देखाउनु भएकै छ, यसलाई थप राम्रो बनाउन आवश्यक छ, यसले हामीलाई नै फाईदा पर्दछ ।’

कोरोनाभाइरस विरुद्धको लडाइका लागि बन्दाबन्दी नै सवैभन्दा प्रभावकारी उपाय भएकाले स्वअनुशानमा रहेर बन्दाबन्दीको पालना गर्नुपर्नेमा उनले जोड दिएका छन्। सम्भव भएसम्म घरमै बस्न पनि प्रधानमन्त्री खानले आग्रह गरेका छन् । 

देशको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान दिएको विवरण अनुसार सङ्क्रमितको सङ्ख्या आठ हजार ४१८ रहेको छ । सबैभन्दा धेरै सङ्क्रमित पञ्जाव प्रान्तमा भेटिएका छन् । पञ्जावमा तीन हजार ७२१ जना सङ्क्रमित भएका छन् । 

त्यसैगरी दोस्रो धेरै सङ्क्रमित भेटिएको सिन्ध प्रान्तमा दुई हजार ५३७ जना सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार एक हजार २३५ जना खैबर पाख्तुन्ख्वामा, ४३२ जना बालुचिस्तानमा, २६३ जना गिल्गित बाल्टिस्तानमा र १८१ जना केन्द्रीय राजधानी रहेको इस्लामावाद प्रान्तमा सङ्क्रमितहरु रहेका छन् ।

कुल सङ्क्रमितमध्ये एक हजार ९७० जना सङ्क्रमणमुक्त भएको चिकित्सकहरुले जनाएका छन् भने मृत्यु हुनेको सङ्ख्या १७६ पुगेको छ । मृत्यु भएकामध्ये १७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

त्यसैगरी पछिल्लो २४ घण्टामा ४२५ जना नयाँ सङ्क्रमितहरु भेटिएका छन् । यो विवरणले चिन्ताजनक अवस्थालाई झल्काउने अधिकारीहरुले बताएका छन् । 

प्रकाशित मिति: : 2020-04-20 22:14:12

प्रतिकृया दिनुहोस्