नेपालमा कोरोना महामारी र लकडाउनको सकारात्मक पक्ष

कोभिड-१९ कोरोना भाइरसले विश्वब्यापी महामारीको विध्वंसक रूप लिँदै मानवीय क्षति गरिरहेको वर्तमान सन्दर्भमा सम्पूर्ण विश्व जगत र मानव जीवन नै लकडाउन, सोसल/फिजिकल डिस्टान्सिङ र आइसोलेसन जस्ता कोरारूपी पीडादायी एकान्तवासको कठघरामा बन्द प्राय:रहेको अवस्थामा छ।

एकातिर वैदेशिक रोजगारमा गएका लाखौं युवा शक्ति रोजगारी गुमाएर स्वदेश फर्कने तयारीमा छन्। अर्कातिर आफ्नै देशको सहरी क्षेत्रमा कार्यरत हजारौं श्रमजीवी युवाले रोजगारी गुमाएर आ-आफ्नो गाउँ घर फर्किरहेका छन्।

यस्तोबेला विश्वब्यापी आर्थिक महामन्दीका निराशाका गफ र भाषण गरेर झोक्राउनुको सट्टा रोजगार गुमाएर स्वदेश र विदेशबाट आ-आफ्ना गाउँ घर फर्कने युवा शक्तिलाई नेपाली गाउँ घरमा कृषि कर्ममा लगाएर देखाउने बेला आएको छ।

सरकारले कोरोनामुक्त ग्रामीण वातावरणमा उत्साह र जाँगरका साथ कृषि कार्यमा लाग्ने इच्छुक वास्तविक युवा जनशक्ति र किसानलाई फिल्डमै गएर पहिचान गर्न ढीलो गर्नु हुँदैन। यस्ता बेरोजगार युवा र कृषकलाई कृषि कार्यका लागि सरकारी कृषि सामग्री इकाइले आवश्यक कृषि औजार, सिँचाई, मल, बिउ र औषधि वडास्तरको फिल्डमै सहज र सरल तरिकाले उपलब्ध गराउने संस्थागत व्यवस्था मिलाई कोरोनाजन्य लकडाउनको अवरोधलाई अवसरको रुपमा उपयोग गर्न वडास्तरीय अभियान सञ्चालन गरिहाल्नुपर्छ।

यसरी उत्साह र जाँगरका साथ कृषि कार्यमा लाग्ने इच्छुक वास्तविक युवाशक्ति र किसानका लागि सरकारी स्तरबाट बिना झन्झट कृषि विकास बैंक र राष्ट्रिय बाणिज्य बैंकले घुम्ती सेवामार्फत स्थानीय तहका हरेक वडा वडामा कृषि ऋण र अनुदान उपलब्ध गराउने संस्थागत प्रबन्ध गर्नुपर्छ।

प्राकृतिक एवम् वातावरणीय सन्तुलन कायम राख्दै यदि विशुद्ध अर्ग्यानिक हरित कृषि खेती तथा पशुपालन व्यवसाय गर्ने हो भने ‘कृषि, पशु र बन स्थानीय समुदायको धन’ को अवधारणालाई आत्मसात गर्दै कृषि, पशु र बन बिच एक अर्कासँग नङ र मासुको जस्तो अटुट र घनिष्ठ सम्बन्ध कायम गर्नैपर्छ।

बनजङ्गल र पशुपंक्षी अर्ग्यानिक कृषि उत्पादनको लागि प्रांगारिक मलको महत्वपूर्ण श्रोत हुन सक्छन्। यसको कार्यान्वयन लागि वडास्तरका हरेक क्लस्टरमा एउटा सबल र सक्षम कृषि तथा पशुपन्छी सहकारी संस्था खडा गरीहाल्नुपर्छ।  

एक अध्ययन अनुसार खेतीपाती गरिने जमीनलाई सधैँभरी प्राकृतिक रुपले उर्बर बनाइराख्ने हो भने एक हेक्टर बराबर जमीनको वरिपरि तीन हेक्टर बराबरको हरियाली बनजंगलले घेरेको हुनुपर्छ। जमिनको सबैभन्दा माथिको उर्बरशील माटोलाई हिउँदमा गाईगोरू र भैंसीकोको खुरले खुकुलो बनाउने हुँदा हावा बतासले उडाउने र वर्षामा पानीले बगाइ क्षति गर्ने भएकाले यस्तो महत्वपूर्ण उर्बरशील टप स्वाइलको संरक्षण गर्नु अत्यावश्यक हुन्छ।

किनभने एक अध्ययन अनुसार एक इन्च उर्बरशील टप स्वाइल निर्माण हुन एक सय वर्ष लाग्छ।

कृषिजन्य र पशुपंक्षीजन्य उत्पादनलाई प्रतिस्पर्धी (Competitive) र लागत प्रभावि (Cost Effective) बनाउन वृहत पैमाना (Economies of Scale) का आधारमा कृषि व्यवसाय तथा सामुहिक पशुपंक्षी व्यवसाय सञ्चालन गर्न चक्लाबन्दी र उन्नत तथा आधुनिक गोठ र खोरका साथै दुबै मौसममा अनुकूल हुने गरी ‘विन्टर ग्रीन हाउस’ र ‘स्टिल पाइप ग्रीन हाउस’ निर्माण गर्नुपर्छ।  यसका साथै कृषिमा आधुनिक प्रविधिको प्रयोग र यान्त्रिकरण प्रयोजनका लागी चक्लाबन्दीमा आधारित कृषि व्यवसाय तथा सामुहिक पशुपंक्षी व्यवशाय सञ्चालनमा विशेष प्राथमिकता दिनुपर्छ।

छोटो समयमा नष्ट हुने कृषिजन्य तथा पशुपंक्षीजन्य उपजहरु (Perishable Goods)को संरक्षणका लागि हरेक कृषि तथा पशुपंक्षी सहकारी संस्थामा एक एक वटा शीत भण्डारण (Cold Store) को स्थापना अपरिहार्य नै हुन आउँछ।

बाली र पशुपंक्षी बीमा अनिवार्य नै हुन जान्छ। कृषिजन्य तथा पशुपक्षीजन्य उपजको न्यूनतम बजार समर्थन मूल्य कृषकको हितमा हुनुपर्ने निर्विवाद विषय हो। हरेक वडा वडामा एक एक जना कृषि, सिँचाई तथा पशुपंक्षी भेटेनरी प्राविधिक जनशक्ति अनिवार्य हुनैपर्छ।

सबै प्रकारका सिँचाई प्रणाली, मल, बिउ, औजार, ढुवानीका साधन र औषधिमा कृषकलाई यथेष्ट अनुदानको प्रावधान हुनुपर्छ। लिफ्ट सिँचाइ प्रणाली सञ्चालन गर्ने कृषकलाई मेसिनमा पूर्ण अनुदान र विद्युतमा सतप्रतिशत छुटको अनिवार्य प्रबन्ध हुनैपर्छ।

उत्पादनशील आन्तरिक पूँजी निर्माण, विकास, र परिचालनको लागि आर्थिक प्याकेजको अत्यन्त आवश्यक पर्नेहुन्छ। यस्तो आर्थिक प्याकेजले कृषि तथा पशुपंक्षीजन्य उत्पादनका अलावा साना तथा माझौला उद्योग, कृषि उद्योगका उत्पादनलाई प्राथमिकतामा नराखि धर पाउने छैन। किनभने कोरोना भाइरसको विश्वव्यापी आक्रमणले अन्तर्राष्ट्रिय निर्भरतामा आश्रित अर्थव्यवस्थाको सट्टा आत्मनिर्भरतामा आधारित स्वावलम्बी अर्थब्यवस्थाको आवश्यकता कति महत्वपूर्ण हुनेरहेछ भन्ने सन्देश दिइरहेको छ।

तसर्थ नेपालको सन्दर्भमा खासगरी कोरोना महामारीको परिप्रेक्ष्यमा आत्मनिर्भरतामा आधारित स्वावलम्बी अर्थब्यवस्थाको मुख्य आधार भनेकै कृषि तथा पशुपक्षीजन्य उत्पादन र कृषि, पशुपंक्षी र बनस्पतिजन्य घरेलु तथा साना उद्योग व्यवसाय नै हो भन्दा अत्युक्ति नहोला।

यस प्रकार, वनजङ्गल एवं प्राकृतिक वातावरण नमासी र नबिगारी गरिने प्रकृतिमैत्री अर्ग्यानिक कृषि तथा पशुपंक्षी ब्यवसायलाई क्रमशः निर्वाहमुखीबाट औद्योगिक व्यवसायमुखी बनाउँदै औद्योगिक चेन (उत्पादन, भण्डारण, प्रशोधन, ढुवानी र बजार व्यवस्था) स्थापना गर्न सकेको विकसित औद्योगिक मुलुकमा अभिसाप सिद्धहुँदै गइरहेको कोरोनाजन्य लकडाउन र महामारी नेपाली ग्रामीण परिवेशमा भने हरित कृषि क्रान्तिका लागि सुनौलो अवसर एवम् बरदान सावित हुने प्रबल सम्भावना छ।

 

प्रकाशित मिति: : 2020-04-20 21:10:00

प्रतिकृया दिनुहोस्