डा.पुन भन्छन्ः कोरोनाबाट मानिस आत्तिने खतरा देखेर जनचेतना जगाउनु गल्ती हाे?

बिएल संवाददाता

काठमाडाै‌ं

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) का क्लिनिकल रिसर्च युनिटका संयोजक डाक्टर शेरबहादुर पुनलाई सरकारले स्पष्टीकरण माग गर्दै पत्र पठाएको छ।

सञ्चारमाध्यममा विभिन्न लेख छपाएको र प्रतिक्रिया दिएको भन्दै मन्त्रालयले स्पष्टीकरण माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर पुनलाई पत्र पठाएको हो।

डाक्टर पुनले पनि आफूलाई स्पष्टीकरण माग गरेर पत्र पठाइएको सुनेको तर पाइनसकेको बताएका छन्। 

शनिबार दिउँसो डाक्टर पुनले भने, ‘मन्त्रालयबाट आएको होला तर मैले पाएको छैन।’

पछिल्लो दिन र्‍यापिड डाइग्नस्टिक टेस्ट र पीसीआर टेस्टका विषयमा उनले मिडियामा बोलिरहेका थिए

उनले आफूले कोरोना भाइरसका विषयमा ‘नीतिगत’ कुरा नगरी ‘टेक्निकल’ (प्राविधिक) कुरा मात्र मिडियामा गरेको बताए।

‘मन्त्रालयले गर्नुपर्ने काम मैले गरिदिएको छु, कोरोनाका बारेमा स्पष्ट पार्ने काम मात्र गर्दा किन स्पष्टीकरण सोधियो, मैले बुझेको छैन,’ डा. पुनले भने।

आफू सुरुवाती चरणदेखि नै दिनरात नभनी कोरोना संक्रमितको उपचारमा खटिरहेको डा. पुन बताउँछन्।

‘कोरोनाबाट मानिस आत्तिने खतरा देखेर जनचेतना जगाउनु हाम्रो कर्तव्य हो,’ उनले भने,‘यसलाई कसरी गलत भयो भनेका होलान?’

प्रकाशित मिति: : 2020-04-18 16:32:47

प्रतिकृया दिनुहोस्