ह्यापीमोन ज्याकब
संसारलाई हामीले जसरी जानेका छौँ, बुझेका छौँ, कोरोना भाइरसको महामारीले त्यसलाई आधारभूत रूपमै परिवर्तन गरिदिनेछ। विश्व व्यवस्था, त्यसमाा रहेको शक्ति सन्तुलन, राष्ट्रिय सुरक्षाका परम्परागत अवधारणा र भूमण्डलीकरणको भविष्य सबै परिवर्तन हुँदैछन्। परस्पर निर्भर विश्व र उपचारविहीन ज्यानमारा भाइरसबीचको घातक गठजोडले मानव सभ्यतालाई त्यस्तो स्थानमा पुर्याउँदैछ, जहाँ हामी कहिल्यै पुगेका थिएनौँ। त्यसैले लकडाउन (घरबन्दी) बाट मुक्त भएपछि हामी बिलकुल भिन्न राजनीतिक तथा सामाजिक यथार्थको सामना गर्न तयार हुनैपर्छ।
कोभिड–१९ को भयानक विस्तारको अर्थ हो, समकालीन विश्व व्यवस्था र यसका संस्थाहरू असफल भइसकेका छन्। समकालीन विश्व व्यवस्था र यसका संस्था दोस्रो विश्वयुद्धका विजेताले रचेका थिए, जसको उद्देश्य मानवताको सेवा गर्नु थिएन। बरु, कुनै निश्चित राजनीतिक र सैन्य संकटलाई समाधान गर्ने प्रभुत्ववादी अभ्यास थियो। यसका साथै, कोभिड–१९ ले विश्वका नेताहरूमा रहेको स्थानीयतावादी प्रवृत्तिलाई पनि उजागर गरिदिएको छ। यस्तो संकटको बेला पनि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बस्न निकै लामो समय लाग्यो। बैठक बसेपनि त्यसले कुनै गतिलो निर्णय गर्न सकेन। यो राष्ट्रसंघको महत्त्वहीनताको प्रमाण हो।