टोखाको मेला र जात्रा स्थगित

लिच्छविकालीन संस्कृति र परम्परा बोकेको मानिएको टोखाको सपनतीर्थ मेला र विस्केट जात्रा स्थगित भएको छ।

विश्वभर कोरोनाका कारण व्यक्ति सम्पर्कलाई न्यूनिकरण गर्न नेपाल सरकारले आह्वान गरिएको लकडाउनलाई पालना गर्दै यहाँका ऐतिहासिक तथा धार्मिक मेला तथा जात्रा स्थगित गरिएको टोखाको संस्कृति संरक्षण र सम्बद्र्धनमा क्रियाशील संस्था न्हुजः खलःका अध्यक्ष  दिपेन्द्र श्रेष्ठले जानकारी दिए।

वैशाख १ गते टोखा नगरपालिका २ स्थित सपनविनायक अगाडि गरेको प्रख्यात सपनतीर्थमा स्नान गर्दा कुष्ठरोग लगायतका रोगहरु नाश हुने धार्मिक आस्था रहेको छ।

यहाँ रहेक वर्ष बैशाख १ गते ५० हजारदेखि एक लाखको हाराहारीमा दर्शनार्थी मेला भर्न र सपनतीर्थमा स्नान गर्न आउने गर्दछन्।

साथै नेवार वस्ती भएका ठाउँहरु धर्मस्थली, मनमैजु, कीर्तिपुर, भक्तपुर, ललितपुरलगायतबाट सांस्कृतिक बाजागाजाका साथ यहाँ मेला भर्न आउने चलन छ। तर यसपाली भने सपनतीर्थ गुठीले गएराति १२ बजे सपनविनायकको पूजाआजा गर्नेबाहेक अन्य धार्मिक र सांस्कृतिक परम्परागत  कामहरु सम्पूर्ण रुपमा स्थगित गरिएको छ।

साथै, धार्मिक आस्थाले लकडाउन पनि व्यवास्ता गरि धर्मालम्बी आउने सम्भावनालाई मध्यनजर गर्दै स्थानीयवासीलाई यसपाली मेलामा सहभागी नहुन अपिल गरिएको छ भने बाटोमा सुरक्षाकर्मीको उपस्थिति समेत बाक्लो गरिएको छ।

धार्मिक आस्थाले कोही तीर्थमा दर्शन गर्न आइहाले सुरक्षाकर्मीले व्यक्ति सम्पर्क नहुने गरी दर्शन गराउने व्यवस्था गरिएको छ।

बाग्मतीको मुहान नुवाकोटको बाघद्वारमा चैत मसान्तको दिन स्नान गरि विष्णुमतीको मुहान विष्णुद्वार हुँदै वैशाख १ गते सपनतीर्थमा दर्शन गर्ने परम्परा रहि आएको छ।

यसका साथै, टोखामा सदियौंदेखि उल्लासका साथ मनाउँदै आइरहेको विस्केट जात्रा पनि स्थगित गरिएको छ। सपनतीर्थ मेला लगत्तै वैशाख १ देखि ४ गतेसम्म मनाइने टोखाको विस्केट जात्रा पनि कोरोनाका कारण स्थगित गरिएको हो।

यस जात्रामा टोखामा महत्वपूर्ण मानिने शक्तिकेन्द्रहरु शिव, सरस्वती, गणेश, चण्डेश्वरी, इन्द्रायणी लगायत हिन्दु देव देवताहरुको खट बनाई जात्रा गर्ने चलन छ। साथै, विस्केट जात्राका क्रममा स्थानीयवासीलाई रोग, व्याधी, दुःखबाट बचाउन विभिन्न शक्तिपिठहरुमा होम गर्ने चलन पनि रहिआएको छ।

यसपाली भने सबै देवता गुठीका सिमित मानिसहरु बसि आ–आफ्नो शक्तिपिठहरुमा क्षमापूजा र होम गरि जात्रा स्थगित गर्ने व्यवस्था मिलाइएको छ। धार्मिक आस्थाका कारण गुभाजुकबाट गराईने क्षमापूजा र होममा समेत मानिसको भिड नलागोस् भन्ने मनशायले ती पूजाहरु बैशाख १ गते मध्यराति गरिने व्यवस्था मिलाइएको छ।

प्रकाशित मिति: : 2020-04-13 13:49:20

प्रतिकृया दिनुहोस्