निःशुल्क खाना खुवाउँदै युवा उद्यमी

रासस

चितवन

लामो समय लकडाउन भएपछि आ­आफ्नो गन्तव्यमा पैदल हिँडेका सर्वसाधारणलाई लक्षित गर्दै यहाँका युवा उद्यमीले निःशुल्क खाना खुवाउन थालेका छन्। नेपाली युवा उद्यमी मञ्चले गत आइतबारदेखि नारायणगढको पुल्चोकमा यसरी खाना खुवाउन थालेको हो। 
 
अभियानका संयोजक कृष्ण सापकोटाका अनुसार हालसम्म एक हजार ४७५ जनालाई खाना खुवाइसकिएको छ। सापकोटाकै नारायणगढमा रहेको वैष्णव मिष्ठान्न भण्डारको भान्सामा खाना बनाएर प्याकिङ गरेर खाना खुवाइँदै आएको छ। पुल्चोकसँगै चितवन मेडिकल कलेजका बिरामी कुरुवा, चौबिसकोठी, आँपटारी, गैँडाकोटलगायतका क्षेत्रमा खानाको अभाव भोगिरहेकालाई खाना खुवाइएको छ।
 
 मञ्चका अध्यक्ष दाताराम घिमिरेका अनुसार बिहान, बेलुका दाल, भात, तरकारी र दिउँसो बिरियानी खुवाइँदै आइएको छ। साथमा एक बोतल पानी उपलब्ध गराइएको छ। घिमिरेको भनाइमा सबैभन्दा टाढाको यात्रा झापाबाट बर्दियाका लागि आएका पैदलयात्रीले खाना खाएका छन्।

 यस्तै राजधानीबाट विभिन्न जिल्ला जान आउने रहेका छन्। सबैभन्दा बढी बर्दिया जान हिँडेका रहेको घिमिरेले जानकारी दिए। घिमिरेले भने, 'यस क्षेत्रमा भोकभोकै कोही तड्पिनु पर्दैन हामी छौँ।'
 
 मञ्चको आफ्नो सङ्कलित रकमबाट खाना खुवाइएको छ। एक जनालाई रु १२५ बराबरको खाना खुवाइँदै आइएको छ। मञ्चमा ५० जना युवा उद्यमी छन्। पुल्चोकमै व्यवसाय गर्ने समाजसेवी राम श्रेष्ठले मञ्च धेरैको साहारा बनेको बताए। यस बेलामा आउने जाने जो कोही भोकभोकै हिँड्नु नपरेको उनले बताए।
 
 मञ्चका देशभरमा सातवटा शाखा छन्। मञ्चका केन्द्रीय अध्यक्ष निकोलश पाण्डे अहिलेको सङ्कटका अवस्थामा सबैले आआफ्नो ठाउँबाट सहयोग पु¥याउनुपर्ने बताउछन्। केन्द्रीय समितिले नेपाल सरकारको राहत कोषमा रकम जम्मा गर्न गृहकार्य गरिरहेको उनले जानकारी दिए।

प्रकाशित मिति: : 2020-04-11 20:51:00

प्रतिकृया दिनुहोस्