मनोविद् रमा कार्कीको टिप्सः कोरोनाको मनोवैज्ञानिक त्रासबाट कसरी बच्ने? 

कोरोना भाइरसको संक्रमणको त्रासका बीच मुलुक अहिले गम्भीर मनोविज्ञानमा प्रवेश गर्दैछ। यति बेला कोरोनाको जोखिम देशभित्र जति छ, त्यति नै ‘सेल्फ आइसोलेसन’ मा बसेका नागरिकलाई मनोवैज्ञानिक विचलनले गाँज्दै लगिरहेको छ।  

आपतको यस घडीमा हामी नेपालीको मनोविज्ञान कोरोनालाई कसरी रोकथाम गर्नेमै बढी केन्द्रित हुनुपर्छ त्यसमा दुईमत छैन। तर, वर्तमान वातावरणमा अनिश्चितता, डर, त्रासको मनोविज्ञानले हामीलाई कताकता चस्स घोचेको छ। केही हदसम्म यो स्वभाविक पनि हो। 

अरु विकसित देशले नियन्त्रण गर्न नसकेको नयाँ भाइरस हामी जस्तो अविकसित मुलुकले धान्न कसरी सक्ला? सबैको सोच अहिले यही आएर टक्क अडिएकाे छ। फेरि विपतको बेला सरकारबाट भएकाे हेलचक्राईं र ठट्टाले आम मानिसलाई थप त्रासमा बाच्न बाध्य पारेकाे छ। 

आपतकालीन अवस्थाका लागि सधै तयार हुनुपर्छ भन्ने पाठ ८ वर्ष अघिमात्र नेपालमा गएकाे महाभूकम्पले सिकाइसकेकाे थियाे। त्यति बेला मुलुकले भाेगेकाे विभिन्न मनोवैज्ञानिक घाउँ सुक्न नपाउँदै हामी अर्को महारोगको विपत्तिसँग जुध्ने तयारीमा छौं।

यसको रोकथाम वा भित्रिन नदिने दुविधाका बीच हामीले ठूलो अवसर गुमाइसकेका छौं। तर, विश्वलाई हेरेर सिक्ने पाठ अझै समाप्त भइसकेकाे छैन। यसका लागि सबैजना असल हुने बेला आएको छ। एकजुट हुनेबेला आएको छ। 

क्वारेन्टाइनबाहेक हामीसँग अर्को विकल्प छैन। घरभित्र बस्ने र सबै रोकथामको उपाय अपनाउने। आज सिङ्गो संसार नै विषम महामारीबाट गुज्रिएको बेला हाम्रो सानो देशले पनि यो महामारीबाट बच्न ‘घरमै बसे सुरक्षित होइन्छ’ भन्ने नारालाई अगाडि सारेको छ। 

मानिसहरुमा यति बेला अनिश्चितता, डर र त्रासले डेरा जमाएकाे छ। वर्ग र व्यक्ति पिच्छे टोल र छिमेकमा नकरात्मक मनोविज्ञान र व्यवहारिक समस्या विस्तारै बढ्न थालेका छन्। 

‘दिएको राहत पनि पकाउन मन छैन। काम पनि छैन,’ भन्ने उद्गारका पंक्तिहरू यदाकदा सुनिन थालेका छन् भने रोग लुकाउने प्रवृति बढ्दै जाँदा दिनहुँ आउने थरीथरीका समाचारले आम मानिसमा एकप्रकारको वितृष्णा जाग्न थालेको छ। 

दैनिक कृयाकलापमा आएकाे हेरफेरले एक प्रकारको निराशा आमवर्गमा देखिन थालिसकेको छ। तर ‘घरबसी आफू सुरक्षित हुनु’ बाहेक अर्को विकल्प पनि छैन। 

अहिलेको परिस्थितिमा देखिएका केही मनोवैज्ञानिक परिवर्तन र समाधानको उपाय यस प्रकार छन्ः

१ शारीरिक रूपमा हामी टाढा भएपनि भिडियो कल, फोन कल र च्यानलबाट नजिक भई एकअर्काको हालखबर सोध्न सक्छौं।
२ घरको दैनिकी काममा आफू र बालबालिकालाई व्यस्त बनाउन सक्छौं।
३ बालबालिकालाई दैनिकी बनाएर नयाँ काम दिन सक्छौं।
४ व्यस्त भएका बाबुआमाको लागि आफ्नो बालबालिकाको कुरा सुन्ने र बुझ्ने अवसर पनि हो यति बेला। तर, यसका लागि हामी निकै संयमित हुनुपर्छ। 
५ सबै उमेर वर्गको लागि लामो श्वास फेर्ने र व्यायाम गर्नु लाभदायक हुन्छ र व्यवहारिक पनि। 
६ अलि फराकिलो घर छ भने करेसाबारी वा फुलबारीमा काम गर्ने अवसर पनि हो। यसले हामीलाई व्यस्त राख्न मद्दत गर्छ र हामी काम गर्दा सजक पनि हुन्छौं। यसलाई मानसिक स्वास्थ्यमा ‘अकुपेशन थेरापी’ पनि भनिन्छ। 
७ यदाकदा महिला हिंसाको जोखिमका घटना आइरहँदा विभिन्न टोल, नगरपालिकाले सूचना प्रवाह र सुरक्षाको प्रत्याुभूति जनमानसमा गराउन सक्छ। 
 

प्रकाशित मिति: : 2020-04-06 11:28:00

प्रतिकृया दिनुहोस्