वीरेन्द्रनगर- आइतबार बिहान रातो पहिरनमा सजिएका। उमेरले ४५ वर्षभन्दा माथि जस्तो देखिने दुई महिला कोरोनाको विषयमा कुराकानी गर्दै थिए। ती दुवै महिला एकआपसमा अपरिचित भए पनि कोरोनाको विषयले परिचित बनायो। तिमध्येकी हरियो मास्क लगाएकी महिलाले भनिन्, ‘धन्न यहाँ (कर्णाली) मा कोरोना देखिएको छैन। यदी देखियो भने त सोत्तरै बनाउँछ।’ उनको कुरामा सँगै बसेकी अर्की महिलाले थपिन्, ‘कस्ताकस्ता विकसित राष्ट्रमा त बेहाल बनाएको छ, यहाँ लाग्यो भने त के गर्नु।’
समाचारमा यी दुई महिलाका संवाद यहाँ प्रस्तुत गरिए पनि यतिबेला सबै कर्णालीवासीको मुखबाट निस्कने शब्द नै यही हो, ‘कर्णालीमा कोरोना फैलियो भने सोत्तरै पार्छ।’ यो शब्द त्यतिकै निस्केको होइन। रोगभोगले पिल्सिएका कर्णालीवासीका लागि गुणस्तरीय स्वास्थ्य सेवा नपाउनु त्यति ठूलो होइन। जाजरकोटमा २०६६ सालमा झाडापखालाको महामारी फैलियो। समयमै उपचार नपाएर कयौंको मृत्यु भयो। २०७१ सालमा जाजरकोटमै फैलिएको इन्फ्लुएन्जाको महामारी होस वा २०४३ सालमा हुम्लामा भएको औलो यहाँका लागि नमिठो क्षण बन्यो।
यति मात्र होइन बेलाबेला सामान्य उपचारसमेत नपाएर ज्यान गुमाउनु यहाँका बासिन्दाको नियतिनै हो। कतिपय गाउँका स्वास्थ्य चौकीमा सिटामोलसमेत पाइँदैन। जसले यहाँका बासिन्दा मृत्युको मुखसम्म पुग्छन्। सिटामोलसमेत नपाउने अवस्थामा विश्वभरि फैलिएको कोरोना भाइरसको उपचार कर्णालीका कति प्रभावकारी होला? यो प्रश्न यत्रतत्र फैलिएको छ। सामान्य रोगदेखि जटिल रोगसँग भिड्नु कर्णालीको नियति बनिसकेको छ।
सामान्य रुघाखोकीको उपचार पाउन नसक्ने यहाँका बासिन्दालाई महामारीको रूपमा फैलिएको कोरोनाको उपचार पाउन झनै सकस हुने देखिन्छ। सामान्य उपचार सेवासहितका स्वास्थ्य चौकी गाउँगाउँमा छन् तर स्वास्थ्य उपकरण हुँदैनन्। यसमा कर्णाली प्रदेशकी सांसद कृष्णा शाहको पनि एकमत छ। कोरोनाको जोखिम कर्णालीमा बढ्दै गएको भन्दै उनले भनिन्, ‘कोरोना यहाँ एउटामा देखियो भने नियन्त्रण बाहिर जान्छ।’ कर्णालीमा अस्पताल र स्वास्थ्य सामग्री, स्वास्थ्यकर्मीहरूको अभाव, सञ्चालित अस्पतालको राम्रो व्यवस्था नहुँदा उपचारमा जटिला आउन सक्ने दैलेखका कर्णाली प्रदेशका सांसद धर्मराज रेग्मीले बताए।