लकडाउनमा चक्रपथलाई घुमेर हेर्दा (तस्बिरहरू)

विश्वव्यापी कोरोना भाइरसको संक्रमण रोक्न नेपाल सरकारले गरेको लकडाउनको आज दसौ दिन सकिएको छ।

लकडाउनलाई पहिलो दिन देखि पछ्याएको मैले आज काठमाडौं र ललितपुरका विभिन्न स्थान घुमेँ। चक्रपथ पुरै परिक्रमा गरेँ।

बल्खुबाट सुरू भएको मेरो यात्रा कलंकीमा केही बेर रोकियो। जहाँ मुलुककै सर्वाधिक व्यस्त सडकको माहौल बुझेँ। अत्यावश्यकबाहेक अन्य कुनै पनि सवारी साधन र सर्वसाधारण सडकमा देखिएनन्। प्रहरीको बाक्लो चेकिङ थियो।

त्यसपछि सीतापाइला, स्वयम्भु, बनस्थली, बालाजु पनि सुनसान थियो। त्यसपछि नयाँ बसपार्कको प्रहरीको कडा चेकिङ थियो।  गोंगबु, बसुन्धरा, महाराजगन्ज हुँदै चाबिहल चोकसम्म पुगेर अवलोकन गरेँ।

त्यसपछि मित्रपार्क हुँदै गौशालामा पुगेर केही बेर रोकिएँ। जहाँ वडा कार्यालयले राहत बाढीरहेको थियो। त्यसपछि पशुपतिलाई बायाँ पारेर एयरपोर्ट हुँदै कोटेश्वर, ग्वार्को, सातदोबाटो, सानेपा हुँदै बल्खु पुगेर आजको यात्रा टुंग्याएँ।

आज दशौं दिन तुलनात्मक रूपमा धेरै खुला रहेको पाएँ। सरकारले सुरक्षित रहेर घरमै बस्नका आग्रह गर्दै लकडाउन गरेको हो । तर, लकडाउन लगाए पनि यसलाई तोड्ने क्रम भने तीव्र रहेको छ।

लकडाउन उलंघन गर्नेलाई प्रहरीले तीन घण्टा होल्डमा राखेर छोड्ने गरेको छ । उल्लंघन गर्नेहरुलाई घरमै रहन आग्रह गरिएको छ ।  अत्यावश्यक काममा हिँडेकालाई भने सोधपुछपछि प्रहरीले छोड्ने गरेको छ । तर रमाइलोका लागि र मर्निङ वाक–इभिनित्र वाकका नाममा हिँड्नेलाई भने नियन्त्रणमा लिएर राख्ने गरेको छ।

पास लिएर समेत पनि मानिसहरु धमाधम काठमाडौंबाट बाहिरिने र भित्रिने गरिरहेका छन्।

 विश्वव्यापीरूपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेबाट लागू हुने गरी अत्यावश्यक बाहेक बाहिर ननिस्कन आदेश जारी गरेको थियो ।

तस्बिरहरू

 

प्रकाशित मिति: : 2020-04-02 22:11:53

प्रतिकृया दिनुहोस्