होलीको भोलिपल्टै घर छोड्नु पर्यो बाराका विदेश यादवले। उनको घरबाट करिब २ सय ५० किलोमिटर दुरीमा रहेको मेलम्चीबाट साहुको फोन आएको थियो। भनेका थिए – 'छिटो फर्क है केटा हो। होलीपछि धमाधम काम सक्नुपर्छ।'
साहुको निर्देशन मान्नै पर्यो।
घरबाट निस्कने बेला आमाले भनेकी थिइन् – 'काम भनेर हतारिँदै निस्किएको छौ अलि मिहेनत गर्नु। अर्को पटक आउँदा उधारो चुकाउन पुग्ने खर्च ल्याउनु।'
'हस' भन्दै मुन्टो हल्लाए र निस्किए। बारादेखि वीरगंज। वीरगंजदेखि काठमाडौं र काठमाडौंदेखि सिन्धुपाल्चोकको मेलम्ची।
निर्माण हुँदै गरेका घरमा ज्याला मजदुरी गर्छन् विदेश। दिनभर खटिएर काम गरे बापत दैनिक ज्याला आठ सय रुपैयाँ। त्यही ज्यालाबाट राशनपानी, घरभाडा अनि जोगाएको पैसा हो ऋण तिर्न उनले घरमा पठाउने। त्यसैले धमाधम काममा जान थाले।
होलीमा दलेको रङ अनुहार र हत्केलाबाट मेटिएकै थिएन, बालुवा र सिमेन्टसँग खेल्न थाले।