कोभिड—१९ (कोरोना भाइरस) को माध्यमबाट विश्वभर महामारीको स्थिति फैलिँदो छ। महामारी अर्थात् कुनै भाइरसद्वारा फैलिने संक्रमण जसको कुनै समय र सीमितता अड्कल र अपेक्षा गर्न सकिन्न। अझ भनौं जसको रोकथामको तत्काल कुनै औषधि उपचार भेटिन्न केवल आआफ्नो तरिकाले स्वस्थ र सुरक्षित रहने उपाय अपनाउनुको विकल्प हुँदैन। करिब तीन महिनाअघि चीनको वुहानबाट फैलिएको यो विश्वव्याधी आज संसारका अधिकांश राष्ट्रमा फैलिएको छ। यसबाट बच्न र संक्रमण हुन नपाओस् भनेर नेपालमा अहिले सरकारद्वारा लकडाउनको माध्यम अपनाइएको छ। धेरैजसो मानिसको बाध्यता, व्यापार व्यवसाय, नोकरी स्वास्थ्य, सञ्चार क्षेत्रको कर्तव्य, रोजीरोटी आदिको लागि दैनिक घरबाट बाहिर ननिस्की सुख थिएन। त्यसैअनुरूप बाहिर निस्किन बानी परेकालाई केही समयको लकडाउन वास्तवमै असहज लागेको होला तर यो समय धेरैको अन्तरालमा एकपटक आउने हुँदा यसलाई धेरै तरिकाले सकारात्मकरूपमा लिनुपर्छ।
आज हामीलाई बोध भएको छ सहजरूपमा बाहिर हिँड्डुल गर्न पाउनु पनि कति महत्वको कुरा रहेछ। मानवीय स्वभाव नै त्यही हो कि जे कुरा हामीसँग छ त्यसको महत्व हामी थाहा पाउँदैनौं। जे छैन त्यसको लागि गुनासो गर्दै प्राप्तिको लागि दौडधुपमा लागेका हुन्छौं। अस्तित्वले विनामूल्य उपलब्ध गराएका हजारौं उपहारप्रति हामी कहिल्यै अहोभावले भरिएका छौं त ? प्रकृतिले उपलब्ध गराएका ती सब सुविधा हामीले अनुदानको रूपमा मात्र लिएका थियौं, अहोभावको रूपमा लिएका थिएनौं। अस्तित्वको अगाडि हाम्रो भूमिका कोरोना भाइरसको कणभन्दा पनि सानो हो तर हामी सोच्ने गर्दछौं मैले गरेर यो सब संसार चलिरहेछ। मैले गरेको आविष्कार, मेरो व्यापार, मेरो राजनीति, मेरो विज्ञान, मेरो उपलब्धि आदि आदि। एक अर्थमा त सही हो, आफ्नो काम, सफलता र उपलब्धिप्रति सन्तुष्ट हुन सक्नु सकारात्मक हो। तर, अस्तित्वको रचना, उसको खेल हामीलाई बेलामौकामा मात्र थाहा हुन्छ। हाम्रो हातबाट सम्भव नभएका कुरा आखिर अस्तित्वकै कृपा रहेछ। प्रकृतिलाई ख्याल राख्दै कुन समयमा के हुनेवाला छ उसले नै जान्दछ, हामी त केवल साक्षीका पात्र मात्र हौं।