तीन महिनाअघि सार्स-कोभ २ बारे कसैलाई थाहा थिएन। अहिले प्राय: सबै देशमा भाइरस फैलिएको छ। करिब पाँच लाखलाई संक्रमण भएको छ। तीमध्ये कति हाम्रा चिनजानका पनि होलान्। कतिबारे हामीलाई थाहा छैन। अर्थतन्त्र डुब्यो र स्वास्थ्य स्याहार प्रणाली तहसनहस बनायो। अस्पताल भरिए र सार्वजनिक स्थल शुन्य भए। मानिसहरू काम र साथीभाइबाट टाढा भए। आधुनिक समाज भङ्ग भएको छ। यस्तो कहिल्यै भएको थिएन।
अमेरिकामा कसलाई संक्रमण भएको छ, अब चाँडै सबैले थाहा पाउनेछन्। दोश्रो विश्वयुद्ध वा ९/११ को आक्रमण जस्तै यो महाव्याधिले देशको आत्मामा गहिरो छाप बसालेको छ। यो श्रेणीको विश्वव्यापी महाव्याधि अपरिहार्य थियो। केहि वर्षयता सयौं स्वास्थ्य विशेषज्ञले यसको चेतावनी दिंदै पुस्तक, श्वेतपत्र र लेख लेखेका छन्। टेड टकको एक करोड ८० लाख दर्शकलगायत सुन्ने जो कोहीलाई बिल गेट्सले सुनाउँदै आएका पनि हुन्।
सन् २०१८ मा अन्तत: आउने महाव्याधिका लागि अमेरिका तयार नरहेको तर्क दिदैं मैले दि एटलान्टिकमा एउटा लेख लेखेको थिएँ। नयाँ कोरोनाभाइरस विश्वमा फैलिए के होला भनेर जोन हप्किन्स सेन्टर फर हेल्थ सेक्युरिटीले अक्टोबरमा रणनीतिक लेख छाप्यो। अनि एउटा भाइरस आयो। परिकल्पना यथार्थ बन्यो। “के हुन्छ?” भन्ने प्रश्न “अब के गर्ने?” बन्यो। उसो भए अब के गर्ने?
अघिल्लो बुधबार ढिलासम्म म एकजना गर्भवती साथीसँग महाव्याधिबारे गफिएँ। अहिले सम्झिदाँ निकै समय बितेजस्तो लाग्छ। उनी सुत्केरी हुने अपेक्षित समयभन्दा केहि दिनमात्रै पर छिन्। हामीले के बुझ्यौं भने उनको सन्तान कोभिड१९ ले परिवर्तन गरेको समाजमा जन्मिने छ। हामीले उनीहरूलाई जेनरेसन सि भन्ने निधो गर्यौं।