कविता
बुद्धि मानिसले पाई विज्ञान भौतिकी सिकी
आविष्कार गरी मृत्यु सौन्दर्य सिर्जना सकी।
मुख बाई बसेको छ खाऊँझैँ सत्यलाइ नै
लौन लौ! अब ता डाक शीघ्र शंकरलाइ नै।
पाई मानिसको बुद्धि मानिसैमा रही रहे
लिन्थ्यो मानिसले शान्ति सारा कृत्य सही रहे।
मानापमान एकै नै गीतामा भनिएसरि
माने मान्छे मुनी बन्थ्यो मुनीले मानिएसरि।
यता लाग्यो उता लाग्यो,आगो लाग्यो जताततै
कता जाऊँ! जता जाऊँ ज्वालो लाग्यो त्यतै त्यतै।
मान्छेको शत्रु मान्छे 'म' मान्छे हो जाग जाग रे
म नै म छु यहाँ ऐले मदेखि भाग भाग रे।
यो मेरो रागको आगो बलिरै'छ मभित्र नै
यो मेरै भित्र ज्वालामा जलिरै'छु अहो! म नै।
दोहोरै लाग्छ आगो ता मैले छोऊँ म छोइऊँ
चिराभिशप्त आगो हूँ आत्मघाती बमै म हूँ।
अहो आश्चर्य यो के भो जली पनि म मर्दिनँ
हत्यारा अरु तर्छन् रे म चाहिँ किन तर्दिनँ?।
समग्र सृष्टि खाए'नि किन हो तृप्त हुन्नँ म!
स्वयं समयले सुत्ता किन हो सुप्त हुन्नँ म।
म मर्ने काल यौटै छ मान्छेले करुणा लिए
निश्चय नै म मर्नेछु मबाट 'म' निकालिए।
नत्र मै क्रूर हूँ शत्रु मेरै शत्रुत्त्वका जरा
फैलाईकन मास्नेछु सम्पूर्ण भूमि उर्वरा।