भुटानमा कोरोना भाइरसको दोस्रो 'केस', तीनपटक परीक्षण गर्दा नेगेटिभ, चौथोमा पोजेटिभ

सेतोपाटी

थिम्पु

भुटानमा ७६ वर्षीय अमेरिकी नागरिकपछि उनकी श्रीमतीलाई पनि कोरोना संक्रमण देखिएको छ। भारतीय सञ्चारमाध्यम आउटलुकका अनुसार शुक्रबार जाँच क्रममा ५९ वर्षीया महिलालाई कोरोना संक्रमण देखिएको हो। 

उनी भुटानमा पहिलो संक्रमण देखिएका अमेरिकी नागरिकसँगै आएकी थिइन्। श्रीमानलाई कोरोना संक्रमण देखिएपछि उनकी श्रीमतीलाई पनि क्वारेन्टाइनमा राखिएको थियो। भुटानका प्रधानमन्त्री लोटे छिरिङले ती महिला देशमै कोरोना संक्रमित दोस्रो व्यक्ति भएको पुष्टि गरेका आउटलुकले लेखेको छ।

फागुन २२ गते अमेरिकी पुरूषलाई कोरोना देखिएपछि उनीसँगै आएकी ती महिलालाई क्वारेन्टाइनमा राखिएको थियो। क्वारेन्टाइन अवधिमा उनको तीन पटक परीक्षण गरिए पनि कोरोना संक्रमण देखिएन। १५ दिन क्वारेन्टाइन सकेर चौथो पटक परीक्षण गर्दा बल्ल शुक्रबार उनमा कोरोना भएको देखिएको हो।

ती अमेरिकी दम्पत्ती फागुन १९ मा भारतको गुवाहटीबाट भुटान पुगेका थिए। उनीहरूसँग प्रत्यक्ष सम्पर्कमा आएका स्थानीय गाइड र चालकले पनि शुक्रबार क्वारेन्टाइन अवधि पूरा गरे। उनीहरूमा कोरोना संक्रमण पाइएको छैन। परीक्षण गरिएका अरू ४० जनामा पनि संक्रमण देखिएको छैन। 

प्रकाशित मिति: : 2020-03-21 21:02:55

प्रतिकृया दिनुहोस्