'छोरा छैन, कसले हेर्छ व्यवसाय' भन्थे, छोरीले सम्हालेर देखाइदिए

सेतोपाटी

काठमाडाै‌ं

सानोमा एलिसा साहलाई 'भविष्यमा के बन्छौ' भनेर कसैले सोध्यो भने उनी सधैं भन्थिन्- बुवाको बिजनेस सम्हाल्छु।

बुवाको व्यवसाय के हो, कसरी गर्ने भन्ने भेउ नपाउने उमेरमा उनको जवाफ 'रेडिमेड' थियो।

'चिनजानका धेरै मान्छेले अमित (एलिसाका बुवा)का ३ छोरी मात्र छन्। व्यवसाय सम्हाल्ने मान्छे छैन भन्थे। त्यो सुन्दा नराम्रो लाग्थ्यो,' माइली सन्तान एलिसाले भनिन्, 'बाल्यकालमा रिसको झोंकमा भन्दिन्थेँ। पछि उद्देश्य त्यही भयो।'

झोंकमा बनेको त्यो उद्देश्य २०७१ सालमा पूरा भयो। काठमाडौं विश्वविद्यालयबाट एमबिए सक्नेबित्तिकै उनी बुवाको व्यवसाय अर्थात् 'राइनो- नेपाल लेदर क्राफ्ट' मा आवद्ध भइन्।

राइनो लेदर्सले विशेषगरी छालाको ज्याकेट बनाउँछ। प्यान्ट, स्कर्ट, सर्ट, झोला, ब्रिफकेस, किरिङ, पर्स, क्याप, पेटी, पन्जादेखि ल्यापटप, मोबाइल, डायरीका खोललगायत पनि। 

यसको कारखाना र एउटा शोरूम मैतीदेवीमा छ। अर्को शोरूम दरबारमार्गमा।

राइनो लेदर्स ब्रान्डका सामान अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, जापान, बेलायत र केही युरोपेली देश निर्यात हुने एलिसा बताउँछिन्।

'वार्षिक तीन-चार करोडको कारोबार हुन्छ,' २८ वर्षीया एलिसाले सुनाइन्।

प्रकाशित मिति: : 2020-03-17 21:42:19

प्रतिकृया दिनुहोस्