दङ्गा फैलिँदा इटलीमा कम्तीमा ६ जनाको मृत्यु

एजेन्सी

काठमाडाै‌ं,

इटलीका जेलहरूमा कोरोना भाइरस सङ्क्रमण रोक्न भनी लगाइएका नियन्त्रणका उपायविरुद्ध दङ्गा फैलँदा कम्तीमा ६ जनाको ज्यान गएको छ।

आगन्तुकहरूलाई आउन नदिइने भनिएपछि देशको उत्तरमा रहेको मोदेना जेलका कैदीहरूले एउटा भवनमा आगो लगाइदिएका थिए।

प्रकोप नियन्त्रणका लागि आइतबार दशौँ लाख मानिसहरूका निम्ति नयाँ प्रतिबन्धहरू लगाइएपनि प्रभावकारी बन्न सकेको छैन। सङ्क्रमणबाट मृत्यु हुने मानिसको सङ्ख्या १३३ थपिएर ३६६ पुगेको अधिकारीहरूले जनाएका छन्।

सङ्क्रमितहरूको सङ्ख्या २५ प्रतिशत बढेर ५८८३ बाट ७३७५ पुगेको छ।

लोम्बर्डी र अरू १४ प्रान्तका एक करोड ६० लाख मानिसलाई नयाँ क्वारन्टीनअन्तर्गत यात्राको निम्ति विशेष अनुमति लिनुपर्ने बनाइएको छ।

यता देशभरिका विद्यालय, व्यायामशाला, सङ्ग्रहालय, रात्रिक्लब र अन्य स्थल बन्द गर्ने घोषणा पनि गरिएको छ। ती निर्णय एप्रिल ३ सम्म लागु हुनेछन्।
 

प्रकाशित मिति: : 2020-03-10 11:03:18

प्रतिकृया दिनुहोस्