‘माक्स लगाएर सार्वजनिक यातायात चढ्दा सबैको नजर ममाथि पर्छ। यसले मेराे मनमा एक किसिमकाे खुलदुली पैदा गर्छ। आखिर ममा के छ त्यस्ताे? मेरो मंगोलियन अनुहार वा रुखाखोकीले ग्रस्थ भएर नाकबाट चुइरहेकाे पानीलाई राेक्न मैले प्रयाेग गरेकाे माक्सले मलाई त्यो भीडमा अलग देखाएकाे हाे कि?’ यो अनुभव हाे, मेरो एक परिचित मित्रको।
कोरोना भाइस अर्थात कोभिड–१९ ले हिजोआज विश्वव्यापी त्रास पैदा गरेको छ। साेशल मिडियादेखि हरेक न्युज च्यानल र अखबारका पानामा कोरोनाको विषयमा टन्नै जानकारीमुलक समाचार र केही अफवाह पनि आइरहेकाे छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार काेराेना भाइरसले ८० देशका ९२ हजार ८ सय ७२ मानिस प्रभावित भइसकेका छन् भने ३ हजार १ सय ६८ जनाको मृत्यु भइसकेको छ।
काेराेनाकै कारण केहीले नामकै आधारमा अमानवीय व्यवहार भाेग्नु परेकाे छ। भर्खरै मात्र न्युयाेर्कमा एक उवर ड्राइभरले आफ्नाे अनुभव मलाई यसरी सुनाएका थिए। उनी चिनियाँ मुलका ड्राइभर थिए। भने–‘म लगायत मेरो परिवार अमेरिकामा लामो समयदेखि बसाेबास गर्दै आए पनि मलाई सर्वसाधारणले गर्ने ब्यवहारमा आजभोलि अलिक फरक देखेकाे छु।’
काेराेना भाइरस चीनकाे उहान शहरबाट फैलिए पनि बर्षाैदेखि अमेरिका बस्दै आएका चिनियाँकाे यसमा के नै दाेष थियाे र! त्यसैले म साेच्छु उनीहरु माथि मात्र विभेद किन? हामीले देख्दै र पढ्दै आएका छौ–आजभोलि धेरै स्थानमा चिनियाँ र मंगोलियन अनुहारका मानिसलाई रेष्टुरेन्टलगायत अन्य सार्वजनिक स्थानमा विभेद हुन थालेकाे छ।
केही दिनअघि मात्र फसिङबाट मानहाटन जाने ट्रेनमा दुई ब्यक्ति चढेका थिए। ट्रेनमा उनीहरुले हाछिउ गरेका मात्र के थिए, ट्रेनको बट्टा नै खाली भयाे। सबै अर्कै बट्टामा सरेँ।
नेपालीमा एउटा उखान छ नि, हुलमुलमा ज्यान जाेगाउनु। याे ध्रुव सत्य हाे। सबैलाई आफ्नाे ज्यान प्याराे हुन्छ नै। अहिलेकाे आपतकालिन अवस्थामा पनि यस्ताे हुनु अनाैठाे कुरा हाेइन।
हिजो मात्र ‘कस्को फुट’को ठूलो होलसेल स्टोरमा खाद्यन्न किन्न जाँदा त्यहा अरु दिनभन्दा फरक वातावरण देखे। धेरैभन्दा धेरै सामान हुने याे स्टाेरमा मालसमान कम थियाे। अझ भनाै केही सामान त ‘सर्टेज’ भइसकेका थिए। त्यहाँ चामल थिएन, दाल थिएन, मानिसमा एक किसिमको मनाेवैज्ञानिक त्रासकाे वातावरण थियाे। मानिसहरुले धेरै दिनकाे लागि खाध्यान्नकाे जाेहाे गर्दा बजारमा सामान ‘सर्टेज’ हुन पुगेकाे थियाे।
हुन पनि कोरोना भाइरसबाट ग्रसित देशमा सातादेखि खाने कुराको संकट हुन थालेको र किनेर खानको लागि बजार नै नभएको अनुभव जापानमा बस्ने एक जना परिचित दाईले मलाई सुनाउनु भएकाे थियो।
दुई दिन अगाडी मात्र न्युयाेर्कमा ३० वर्षीय एक महिलाको मृत्यु भएका कारण शहरमा कोरोना भाइरसको त्रास छ। यसलाई लिएर मेयर विल दे ब्लासियोले सर्वसाधारणका नाममा सचेतना सन्देश दिइसकेका छन्। उनले आफ्नाे सन्देशमा सर्वसाधारणलाई सर्तकता अपनाउन र बच्नको लागि निरन्तर रुपमा माक्स लगाउन, साबुन पानीले मज्जाले हात धुन र ‘हेन्ड सेनिटाइजर’ प्रयोग गर्न अनुराेध गरेका छन्।
यसै कारण पनि बजारमा माक्स, हेन्ड सेनिटाइजर र साबुनको मूल्य आँकासिएको छ। स्वास्थ्य क्षेत्रमा समेत माक्सको अभाव हुन थालेको छ । उपभोक्ताबीच जुन बस्तुको उच्च माग हुन्छ, व्यापारीले मनलाग्दी मूल्य राख्न पाउनेसम्म यस देशमा छुट रहेको छ।
डा.समीर दिक्षितले भनेका छन्– ‘भाइरस भनेको एकै चोटी आएको होइन। यो परिर्वतन भइरहन्छ। रुखाखोकी पनि भाइरसले गर्दा हो। अनि उक्त भाइरससँग लड्न सक्ने क्षमता प्रत्येक ब्यक्तिमा हुन्छ। यसबाट बच्न हामीले सावधानी अपनाउनु पर्छ। तर, कोरोना भाइरस नयाँ तरिकाबाट आएकाले गर्दा अझ बढी हामी त्रसित भएका हाैं। यो सरुवा भएको हुँदा डराउनु पर्छ तर यसको मृत्युदर भने एक दम कम भएकोले गर्दा डराउनु पर्ने अवस्था भने छैन।’
जनस्वास्थ्य विज्ञ रवीन्द्र पाण्डेको भनाई अनुसार हाम्रो आकाश तथा धरतीमा करोडौ किटाणु छन्। नोवेल कोरोना एउटा भाइरस हो। रोग त्यस्तो ब्यक्तिलाई लाग्छ, जसको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ। रोगसँग लड्ने क्षमताको विकास गरेमा यस्ता खहरे रोगसँग डराउनु पर्दैन भन्ने कुरा उनले बताएका छन्। यसका लागि हामीले खाने कुरामा बढी मात्रामा जोडदिनु पर्छ। जस्तै हरियो सागसब्जी, गेडागुडी, लसुन, अदुवा, जिरा–टिमुर आदी खाने गरेमा र नियमित ब्यायाम गर्ने गरेमा फोक्सो क्षमतामा विकास हुने गर्दछ। जसले हामीलाई संक्रमित हुनबाट जाेगाउँछ।
कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिए पनि हामी आफै सचेत हुनु जरुरी छ। र अरुलाई पनि सचेत र संयम अपनाउन तथा समान ब्यवहार गरेमा यसबाट निदान पाउन सकिन्थ्याे कि?