४७ वर्षअघिको ‘सुखानी’ काण्ड : जसको लक्ष्य अझै अपूर्ण

रातोपाटी

काठमाडौं

घनेन्द्र बस्नेत

आज फागुन २१ अर्थात् नेपाली कम्युनिस्ट आन्दोलनको अविस्मरणीय दिन । ४७ वर्षअघि आजैको दिन झापा र इलामको सीमावर्ती क्षेत्र माई नगरपाकिलास्थित सुखानीमा कम्युनिस्ट आन्दोलनमा लागेका पाँच जना योद्धाहरुले एकै साथ शहादत प्राप्त गरेका थिए । जेल सार्ने बहानामा झापा इलाम जिल्लाको सिमानामा पर्ने सुखानीको जंगलमा तत्कालीन पञ्चायती राज्यसत्ताले क्रुरतापूर्वक गोली हानी राजबन्दीहरुको सामुहिक हत्या गरेको उक्त घटना ‘सुखानी काण्ड’का नामले चिनिन्छ । पञ्चायती व्यवस्थाविरुद्ध हतियार उठाएर ‘वर्गशत्रु सफाय अभियान’ को थालनी गरेका ती क्रान्तियोद्धाहरु नेत्र घिमिरे, कृष्ण कुइँकेल, बिरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई तत्कालीन पञ्चायती शासकले सुखानी जङ्गलमा लगेर निर्ममतापूर्वक हत्या गरेकोे थियो ।

घिमिरे, कुइँकेल र श्रेष्ठ झापाको साविक गरामनी गाविस तथा दाहाल साविक चारपाने गाविस र राजवंशी साविक ज्यामिरगढी गाविसका बासिन्दा थिए । तत्कालीन कम्युनिस्ट पार्टीको झापास्थित ‘मेची–कोसी कोअर्डिनेसन कमिटी’ले २०२८ सालमा पञ्चायती व्यवस्थाविरुद्ध मोर्चाबन्दी गरेको थियो । सोही मोर्चाबन्दीमा संलग्न रहेको आरोपमा पञ्चायत सरकारले पक्राउ गरेका मध्ये पाँचै जनालाई झापाको चन्द्रगढीस्थित कारागारमा कैदीबन्दी बनाएर राखिएको थियो । पछि चन्द्रगढी कारागारबाट इलाम कारागार सार्ने बहानामा २०२९ फागुन २१ मा सुखानीको जङ्गलमा लगेर उनीहरुलाई गोली प्रहार गरी सामुहिक हत्या गरिएको थियो ।

प्रकाशित मिति: : 2020-03-04 23:25:38

प्रतिकृया दिनुहोस्