काठमाडाैंका सामुदायिक विद्यालयको बेहाल : अधिकांश कक्षाकाेठा सुनसान

मिलन दाहाल

चालु शैक्षिक सत्र सकिन अब धेरै दिन बाँकी छैन । त्यसैले अधिकांश विद्यालयमा अन्तिम परीक्षाको तयारी सुरु भइरहेको छ । शिक्षक–शिक्षिकाहरू पाठ्यक्रम सकाउने हतारोमा छन् । विद्यार्थीहरूले वर्ष दिनको मेहनत खेर जान नदिन नियमित कक्षा र पुनरावृत्तिलाई महत्व दिइरहेका छन् । तर कक्षाका प्रायः सबै विद्यार्थी उपस्थित हुने साताको पहिलो दिन १८ फागुन आइतबार पनि काठमाडौंको नक्सालस्थित आदर्श आधारभूत विद्यालयमा भने विद्यार्थी उपस्थिति न्यून थियो ।

विद्यालयको रेकर्डअनुसार कक्षा ७ मा नौ जना विद्यार्थी भर्ना भएका छन् तर आइतबार भने तीन जना मात्र उपस्थित थिए । त्यस्तै कक्षा ८ मा पनि १० जना विद्यार्थी रहेकोमा तीन जनाको मात्र हाजिरी भएको थियो । कक्षा ८ मा भर्ना भएका १० जनामा आइतबार विपन श्रेष्ठ, इन्साफ तामाङ र अशोक खत्री मात्र उपस्थित थिए । कक्षा ७ मा पनि आफूसहित तीन जना मात्र विद्यालय आएको सुजन थापाले बताए ।

प्रधानाध्यापक अन्तराम नाथका अनुसार गत शैक्षिक सत्रमा विद्यालयमा एक सय ३५ विद्यार्थी भर्ना भएका थिए । कक्षा ८ मा १० जना, ७ मा ९ जना, ६ मा १२ जना र कक्षा ५ मा १४ जना विद्यार्थी भर्ना भएका थिए । त्यस्तै कक्षा ४ मा १३ जना, ३ मा १४ र कक्षा १ र २ मा समान १८/१८ जना विद्यार्थी भर्ना भएका थिए । त्यसैगरी प्रारम्भिक बाल विकास शिक्षा (इसिडी)मा २४ जना भर्ना भएका थिए । 

अधिकांश विद्यार्थीका अभिभावक बाहिरी जिल्लाबाट आएर सामान्य रोजगारी तथा ज्याला मजदुरी गर्नेहरू हुन् । विद्यार्थी संख्या न्यून हुनु र भर्ना भएका विद्यार्थी पनि नियमित विद्यालय नआउने कारणबारे स्पष्ट पार्दै प्रधानाध्यापक नाथले भने, ‘कामको खोजीमा अभिभावक एक ठाउँबाट अर्काे ठाउँमा डेरा सरेर जाने गरेका कारण पनि विद्यार्थी भर्ना भएजति आउँदैनन् ।’ विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष हरिप्रिया चन्दले सबै कक्षाका गरी करिब ९० जना विद्यार्थी नियमित विद्यालय आउने गरेको बताइन् । 

२०७२ सालको विनाशकारी भूकम्पअघिसम्म पनि विद्यालयमा विद्यार्थी संख्या ठीकै थियो । भूकम्पपछि विद्यार्थी संख्या स्वात्तै घटेको भन्दै प्रधानाध्यापक नाथले भने, ‘भूकम्पपछि अभिभावकसँगै गाउँ फर्केका अधिकांश विद्यार्थी पुनः फर्केर आएनन् ।’ विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष चन्दले पनि भूकम्पपछि विद्यार्थी संख्या निकै न्यून भएको बताइन् । विद्यालयका शिक्षक प्रेमभक्त रेग्मीले निजी विद्यालयमा मात्रै गुणस्तरीय शिक्षा प्राप्त हुन्छ भन्ने मानसिकताका कारण पनि सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दो क्रममा रहेको बताए ।

प्रकाशित मिति: : 2020-03-03 12:07:51

प्रतिकृया दिनुहोस्