कोरोनाको संक्रमण इटालीमा एकै दिन ५० प्रतिशतले बढ्यो, विश्वभर करिब तीन हजारको मृत्यु

एजेन्सी

काठमाडौं

इटालीमा कोरोना भाइरस अर्थात कोभिड–१९को संक्रमण एकै दिन ५० प्रतिशतले बृद्धि भएको छ। आइतबार कोरोना भाइरसको संक्रमण ५० प्रतिशतले बृद्धि भएको इटालीका स्वास्थ्य अधिकारीले बताएका हुन्।

इटालीमा कोरोना संक्रमितको संख्या १६ सय ९४ पुगेको छ। शनिबारसम्म संक्रमित हुनेको संख्या ११ सय २८ थियो। इटालीमा कोरोनाका कारण अहिलेसम्म ३४ जनाको मृत्यु भएको छ।

चीनसहित एसिया बाहिरका देशमा सबैभन्दा बढी कोरोनाको संक्रमण हुने देश इटाली हो। इटालीको मिलान आसपासका क्षेत्रमा कोरोनाको संक्रमण फैलिएको छ।

कोरोना सङ्क्रमण ६४ मुलुकमा, करिब तीन हजारको मृत्यु

आइतबार अपरान्ह्सम्म कोरोना भाइरसको सङ्क्रमण विश्वका ६४ मुलुकमा भेटिएको छ।

एएफपीको तथ्याङ्क अनुसार आइतबारसम्म विश्वभर दुई हजार ९९० जनाको यस भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ भने कूल ८७ हजार ५६५ जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

शनिबार साँझ ५ बजेपछि आइतबार अपरान्ह्सम्म थप एक हजार ६४६ थप व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ 

कोभिड–१९ भनिने उक्त भाइरसको सङ्क्रमण मकाउ तथा हङकङबाहेक मुख्यभूमि चीनमा कूल ७९ हजार ८२४ जनामा पुष्टि भएको छ भने त्यहाँ कूल दुई हजार ८२४ जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ। 

चीनमा शनिबार ५ बजेदेखि आइतबार ११ बजे (ग्रीनवीच समय)सम्ममा ५७३ जना नयाँ विरामीमा सङ्क्रमण पुष्टि भएको छ भने ३५ जनाको सङ्क्रमणपछि उपचारका क्रममा मृत्यु भएको छ।  

अहिलेसम्म चीनबाहिर कूल सात हजार ७४१ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ भने कूल १२० जनाको मृत्यु भएको छ। यद्यपि इरानबाट सरकारी अधिकारीले उपलब्ध गराएको तथ्याङ्को निकै धेरै गुणा भाइरस सङ्क्रमणका कारण मृत्यु भएको कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

यो समयमा चीनबाहिर करिब एक हजार ७३ नयाँ विरामीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। चीनपछि सबैभन्दा बढी प्रभावित मुलुकहरूमा दक्षिण कोरिया, इटली, इरान र जापान रहेका छन्।

दक्षिण कोरियामा अहिलेसम्म तीन हजार ७३६ जनामा सङ्क्रमण भएको र अघिल्लो दिनभन्दा ५८६ थप व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने कूल १८ जनाको मृत्यु भएको छ। 

त्यस्तै इरानमा चीनबाहिर सबैभन्दा बढी अर्थात् कूल ५४ जनाको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या आइतबारसम्म थप ३८५ पुगेको र इरानमा कूल ९७८ व्यक्तिले सङ्क्रमणपछि उपचार सेवा लिइरहेको बताइएको छ।

जापानमा कूल २३९ व्यक्ति सङ्क्रमित भई उपचार गरिरहेका बताइएको छ भने कूल ११ जनाको मृत्यु भएको छ। जापानमा विगत २४ घण्टामा थप नौजनामा सङ्क्रमणको पुष्टि भएको छ। जापानको अर्को छुट्टै स्थान जहाँ डायमण्ड प्रिन्सिसे नामक योकोहामा बन्दरगाह नजिकै रोकिएको जहाजमा ७०० जनामा सङ्क्रमण भएको अधिकारीहरूले बताएका छन्।
 

प्रकाशित मिति: : 2020-03-02 21:49:48

प्रतिकृया दिनुहोस्