नायिका कृति भट्टराईको कफीशाला: नेपाली कफी पिउँदै नयाँ आइडिया जेनेरेट गर्ने थलो

क्यापिटल

काठमाडौं

अर्गानिक कफीको स्वादमा रम्दै साथीभाइको जमघट, व्यावसायिक मिटिङ तथा शान्त वातावरणमा भुल्न चाहनेका लागि उपयुक्त गन्तव्य हुन सक्छ, कफीशाला ।

जाडो, गर्मी हरेक मौसममा धेरैको प्रिय पेयपदार्थ बनिरहेको कफीमा अहिले कलेजका विद्यार्थीदेखि व्यावसायिक प्रतिष्ठानका उच्च व्यक्तिहरु पनि भुल्न थालेका छन् । तनाव, थकान, अल्छी भगाउने ओखती बनेको छ, कफी । 

कफीशाला, नामले नै सम्पूर्ण जानकारी दिइसकेको छ । कफी, संसारमै सबैभन्दा बढी रुचाइने पेय पदार्थ र शाला अर्थात् बस्ने ठाउँ । नामअनुसार नै कफीशालामा विभिन्न स्वाद र फ्लेबरका कफी खाँदै आनन्ददायक भएर बस्न सकिन्छ ।

बानेश्वर थापागाउँमा सञ्चालित कफीशालाकी सञ्चालिका हुन्,  चर्चित नायिका एवं सञ्चारकर्मी कृति भट्टराई ।टेलिभिजनकी समाचार वाचिका र चलचित्रमा अभिनय पनि गरिरहेकी उनले व्यावसायिक पाइला अगाडि बढाउने क्रममा चार वर्षअघि कफीशाला सुरु गरेकी हुन् । 

केही नयाँ काम गर्ने सोचले कफीशाला सञ्चालन गरेकी उनलाई व्यवसाय सुरु गर्नु अघिसम्म कफीको विषयमा खासै जानकारी थिएन । आफ्नो घरमा भाडामा बस्ने एक साथीको सुझावअनुसार कफीशाला शुरु भएको उनी बताउँछिन् ।

उनले भनिन्, ‘व्यवसाय सुरु गरेपछि अध्ययन गर्दै जाँदा अर्गानिक, स्टान्ड, अमेरिकानो, क्यापाचिनो, रोबस्टालगायत विविध कफीबारेमा थाहा पाएँ ।’  

प्रकाशित मिति: : 2020-03-01 06:51:32

प्रतिकृया दिनुहोस्