(जीवन सुन्दर छ, भाग–९)
आगोले जलेको हात काट्नुपर्यो। तर, शान्तिलाई बेलाबेलामा आफ्ना दुवै हात छन् झैं लागिरहन्छ- “भ्रमले पनि कहिलेकाहीँ खुशी दिँदोरहेछ।”
काठमाडौं। कुनै बेला थियो, शान्ति पुरीलाई जिन्दगीदेखि नै दिक्क लाग्न थालेको थियो। न कोहीसँग बोल्न मन लाग्थ्यो, न भेट्न। न कतै जान मन लाग्थ्यो, न कुनै मनोरञ्जनमा सहभागी हुन। दिनरात कोठामै बसिरहन्थिन्। लाग्थ्यो– बाँच्नु नै बेकार छ।
बारम्बार आफ्ना हात हेर्थिन्। दायाँ हात नाडीनेरबाट काटिएको छ। बायाँ हातका तीनवटा औंला मात्र सग्ला छन्। र, जिन्दगीको संघर्ष दुई हातले पनि थामिनसक्नु पेचिलो लाग्छ।
दिक्क मान्थिन्। उदास हुन्थिन्।
यो उदासीको शुरूआत २०६६ सालमा भएको थियो। तर, कथा त २०५४ सालबाटै शुरू गर्नुपर्छ।
त्यही साल चैतमा खोटाङको बादेलमा जन्मिएकी थिइन् शान्ति। बा, आमा, दिदी र दाई थिए परिवारमा।
विकट जिल्ला खोटाङको जीवन सजिलो हुने कुरै थिएन त्यतिबेला। कष्टकर थियो। विद्यालय घरभन्दा टाढा। उकालो ओरालो गर्न गाह्रो हुन्थ्यो। शिक्षा, स्वास्थ्यको पहुँच थिएन। बिजुली थिएन। टुकी बालेरै रातको अन्धकारसँग जुध्न पर्थ्यो।
त्यही विकट गाउँमा बसिरह्यो भने टुकीबाट निस्कने धुवाँ जस्तै बच्चाहरूको भविष्य पनि कालो हुने सोचेर शान्तिका बाआमाले शहरमा बसाईं सर्ने निधो गरे।