दश वर्षमा दश अर्ब सकियो, काम आधा मात्रै

सरिशा अछामी

काठमाडौं

वागमती करिडोर निर्माणको काम समयमै नसकिने भएको छ। निर्माण सुरू भएको दश वर्षमा दश अर्ब रूपैयाँ खर्च भए पनि काम भने ५० प्रतिशतमात्रै भएको छ। 

वागमतीसहित काठमाडौं उपत्यकाका नौ वटा खोला क्षेत्रमा सडक निर्माण गर्ने, नदी नियन्त्रण गर्ने र ढल व्यवस्थापनको काम दश वर्षअघि सुरू भएको थियो। २०६६ मा सुरू भएको काम २०८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। जसका लागि १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो।

तर, दश अर्ब रुपैयाँ खर्च हुँदा पनि ५० प्रतिशत मात्रै काम सकिएको छ। अब चार वर्षमा ५० प्रतिशत काम पूरा हुन मुस्किल देखिएको छ।

अहिले काम भइरहेका ६ वटा खोलामध्ये तीन खोलामा ९० प्रतिशत र बाँकी खोलामा ३० प्रतिशतसम्म काम भएको छ। अझै तीन वटा खोला क्षेत्रमा काम सुरू हुनै बाँकी छ।

अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका अनुसार अहिले वागमती, विष्णुमती र धोबी खोला क्षेत्रको काम अन्तिम चरणमा पुगेको छ। ‘वागमती, विष्णुमती र धोबी खोलाको काम ९० प्रतिशत सकिएको छ,’ समितिका सिनियर डिभिजन इन्जिनियर योगेन्द्र चित्रकारले भने।

प्रकाशित मिति: : 2020-02-23 00:55:49

प्रतिकृया दिनुहोस्