गाउँपालिकामा एम्बुलेन्स छैन जनप्रतिनिधि महंगा गाडी चढ्छन्

प्रधानमन्त्रीलाई खुला पत्र

हरि थापा

काठमाडौं

समाननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू!
नमस्कार!

केही महिना यता यहाँको स्वास्थ्यमा आएको समस्याको कारण हामी निकै दुःखी छौं। 

मनमा चिसो पस्न थालेको छ। देशको नेतृत्व लिएको तपाईँ चाडै निको हुनुहोस्। स्वस्थ्य बन्नुहोस् र देशलाई पनि स्वस्थ्य बनाउनुस्।

एउटा रोगी डाक्टरले अर्को रोगी विरामीको सफल उपचार गर्नसक्छ। तर, शाहस आँट धैर्यता र मनोबललाई कमजोर बन्न दिनुहुँदैन। एउटा घाइते सिपाहीले पनि दुश्मनलाई दुई चार निशाना लगाउन सक्छ। र अन्तमा युद्व जितेर फर्कन सक्छ। देश त्यति धेरै अशक्त घाईते पनि भएको छैन। सम्बन्धित डाक्टरको टिमले थोरै प्रयास मात्र गरे पनि ठूलो नतिजा आउनसक्छ।

केही पाईला अगाडि नबढेसम्म सफलता आकाशबाट झर्दैन कम्तिमा एक खुड्किला मात्र  लिप्ट वा भर्याङमा राख्न सक्यो भने भर्याङ लिफ्ट दुवैले सरर लगेर उचाईमा छाडिदिनसक्छ। तर, एक पाईला बढाउने  हिम्मत हार्नुभएन।

यो देशमा यति धेरै निरासा छायो सरकारले यसको समिक्षा गरेन। बरू सञ्चारकर्मी रवि लामिछाने, विद्युत प्राधिकरण कार्यकारी प्रमुख कुलमान घिसिङ, राष्ट्रिय आविष्कार केन्द्रको प्रमुख महाविर पुन, नेत्र चिकित्सक डा. सन्दुक रूईतको हातमा देशको नेतृत्व सुम्पिए रातारात विकासको चरम उत्कर्षमा पुर्याउँथे कि, झैं सोच्न थालेका छन्।

कारण उनीहरूले हात हालेको क्षेत्रले सफलता पाएका छन्। त्यसकारण जादुको छडी लगाउने किसिमको भिजनरी मान्छे जरूर चाहिएको हो। 

सरकारको मन्त्रीहरू जुन मन्त्रालयमा जो पुगे पनि नतिजामा फेरवदल ल्याउन नसक्नुले नै यो चरम निरासा बनाएको हो।

सपना देखाउने होइन। अब सपना पुरा गर्ने र सफल बनाउन प्रयास गर्ने नेतृत्व चाहिएको हो।

देशले कठिन परिस्थितिको सामना गर्नुपर्यो। दश वर्षे जनयुद्वपछि शान्ति प्रकिया, त्यस पछाडिको दशक सरकार ढाल्ने र निर्माण गर्ने कार्यमा नै ब्यस्थ रह्यो।

चाहेर होस् वा नचाहेर जसो तसो तीन तहकै चुनाव भयो। त्यसपछि गाउँगाउँमा सिंहदरबार। आहा! सुन्दा पनि प्रिय लाग्ने नाराहरू घन्किन थाले। गाउँ सहरमा खुसियाली छाउन थाल्यो। 

दुई तिहाई मत पाएर बनेको शक्तिशाली सरकारको पालामा अब देशले मुहार फेर्नेछ भन्ने आशा राख्दै सिंहदरबारको महत्व बुझेका/नबुझेका सबै जनताले दिपावली मनाए। विस्तारै समय बित्दै गयो। विभिन्न बहानामा सरकार मातहतका मन्त्रालय त्यस मातहतका विभाग विवादित हुँदै गए।

गाउँमा जनप्रतिनिधी सिहंकै ब्यवहार देखाउन थाले। जनतालाई धम्क्याउने थर्काउने कुट्ने  ठेक्का पट्टामा आफैं संलग्न हुने। नदि दोहोन गर्नेलगायत अन्य विवादित काममा फस्दै गए। 

विदेश भ्रमण र मिटिङले मतदाता भुले। यहाँ सम्मकी सेवा सुविधाका नाममा गाउँमा एम्बुलेन्स छैन। कोही बिरामी परे अझै पनि डोकामा बोक्नुपर्ने बाध्यता छ। तर, तीनै जनताबाट चुनिएका जनप्रतिनिधी महंगा र बिलासी गाडीमा रमाइरहेका छन्। 

यो दुर्दशा जनताले देख्नुपर्ला भनेर कल्पना गरेको थिएन।

कतिपय गाउँपालिका र नगरपालिकामा सकारात्मक सुधारको उदाहरणीय काम भएको छ। 

नमुना गाउँपालिका/नगरपालिका घोषणा गरि निरन्तर प्रयासमा लागेका पनि छन्। तर, अधिकांश गाउँपालिकामा जनप्रतिनिधिको हालिमुहाली छ। 

यतिसम्मकि, त्यहीँ गाउँमा जन्मि हुर्के गरेर पार्टीको टिकट पाएकाको फेरिएको जीवनशैली देखेर आम जनता चकित छन्।

राजनीतिमा के छ त्यस्तो जहाँ बिना लगानी मानिसहरू रातारात मोटाएका छन्। अनि विलासी जीवन जिउन सकेका छन्।

साईकल चढ्ने हैसियत नभएका जनप्रतिनिधि आज महंगा गाडी चढ्दा आलोचना नभएर के प्रशंसा हुन्छ त प्रधानमन्त्री ज्यू? 

अझै पनि यो दुई तिहाई खुईलिसकेको छैन। केन्द्रदेखि प्रदेश र स्थानीयस्तरका जनप्रतिनिधीलाई केही वर्ष मात्र सिमित सेवा प्रदान गरि नागरिकलाई उच्चतम सेवा दिन सकियो भने यो सरकारको नाम इतिहासमा लेखिनेछ। तर, सरकारलाई कसैको सुझाव सुन्ने र मान्ने फुर्सद कहाँ छ र? 

सरकार! रेल र पाजीजहाजको कुरा छोडेर गाउँमा एउटा एम्बुलेन्स, स्वास्थ्य चौकी, खानेपानी र विद्यालयजस्ता आधारभूत सेवा र सुविधा मात्रै पुर्‍याए मात्रै अर्को चुनावमा पनि जनताले यही सरकार चुन्नेछन्। अन्यथा मतदाता जति सोझा छन् त्यति अविवेकी पनि छैनन्।

जरूर एउटा सरकारले गरेका सकारात्मक निर्णयले दुरदर्शितामा ठूलो असर पार्छ। दुई वर्षको पूर्वसन्ध्यामा केही सकारात्मक दृष्य देखियो। नेपालको ईतिहासमा सभामुख जस्तो उच्च पदमा रहेको व्यक्तिलाई पनि छानबिको दायरामा उभ्याउने शाहस गरेको छ।

साथै पूर्व उपप्रधानमन्त्री, पूर्व मन्त्री, पूर्व आयुक्तसहित केही उच्च पदस्थ कर्मचारीसहित एक सय पचहत्तर जनालाई बालुवाटार जग्गा प्रकरणमा  तानिनु सकारात्मक कार्य हो। यसमा दोषि को हो भन्ने काम सम्बन्धित निकायको फैसलाले गर्ला तर कम्तिमा छानबिनका लागि सहयोग त गर्‍यो।

यसरी नै पार्टी र राजनीतिभन्दा माथि उठेर आफ्नै दलका बहालवाला मन्त्रीसमेतलाई छानविनमा ल्याउने हो कति तारिफ हुँदो हो।

गल्तो गर्ने जो सुकैलाई पनि कठालो समात्ने हो भने पक्कै पनि जनताले खोजेको परिवर्तन टाढा छैन। 

विभिन्न प्रकरणमा नाम जोडिएका शीर्ष नेताकोसमेत छानविन गरिने हो भने पक्कै पनि जनताले तारिफ गर्न कन्जुस्याईँ गर्ने थिएनन्। 

सरकार चुपचाप हल्ला नगर्न निर्देशन दिन्छ रेलका कुरा गर्छ। रेल होइन यति बेला निर्मलाको हत्यारा पत्ता लगाए वाहवाही हुनेछ। रेलको समय पनि आउँछ त्यो भन्दा महत्व अपराधीलाई कठघरमा ल्याउने काम हो।

चुनौतिलाई अवसरको रूपमा लिएर, आलोचनालाई आत्मसाथ गरेर, कमि कमजोरीलाई क्षमायाचना गरि भरपुर सुधार्ने बाचा गर्दै जनताको घर दैलोमा पुगेर उनीहरुको समस्यालाई जसरी चुनावताका समयमा सपना बाँढेको थियो उसै गरि हामी तपाईँहरू सँगै छौ भन्ने आभाष दिलाएर काम गरेको भए यो सुन्दर देशमा लिक्वानयू, महोमद्ध महाथिविन, अटोभान नेल्सन मण्डेला जस्ता संसार कहलिएका देशलाई योगदान दिएर नेतृत्व समालेर समृद्धितर्फ डोर्‍याएकाको लिष्टमा हाम्रा नेताहरुको पनि नाम आउने थियो। गर्व गर्न लायक हुने थियो। 

संसारका विकशित देशहरू पनि उथुलपुथुल भएर सयमा सय  भएका छैनन्। अमेरिका जस्तो  देशमा राषट्रप्रमुखको पनि विरोध भएका हामीले देखेका छौं। तर, उनीहरुको प्रयास जारी छ। हाम्रा नेताको झै मन सानो गरेर फलानो जनताले यसो भन्यो उसो भन्यो भनेर गुनासो गर्दै हिँड्दैनन् आलोचनाको पछाडि कारण पता लगाउँछन्।

कमसेकम जनताको मन जिते पछि जनभावना अनुरुप काम गरे मात्र पनि ऐतिहासिक सफलता पाईन्छ। 

कम्तिमा जनगुनासोको उपेक्षा गर्नु हुदैन। उनिहरुको चाहना आवश्यकता र विचारको मूल्याङकन हुनुपर्छ।

सरकारले आलोचना सहन नसकेको देख्दा लाग्छ यो सरकारको मुटु कमजोर छ।

नाजायज कुरा कहाँ के भनेको छ र? देशमा हत्या हिंसा बढेको छ नियन्त्रण गर। तस्करहरू सलबलाएका छन् कठालो समात। दलालहरु कालो धन्दामा लागेका छन् छोरीचेली दिल्ली हुँदै विचल्ली परेका छन्। 

विकास निर्माणमा ढिलाई भयो ठेकेदारले काम गरेनन् फलानो ठेकेदार ठिक छैन। पटक पटक गलत गरेको छ। जनताको करबाट उठेको रकम हिनामिना भयो ।

काम राम्ररी गरेन आँखामा छारो हाल्यो।

शिक्षा स्वास्थ्यमा लापरवाही भयो सुधार्न पर्‍यो। लगायतका यस्तै नैसर्गिक अधिकारको विषयमा टिप्पणी गर्दासमेत ओठे जवाफ दिने थर्काउने धम्क्याउने ‘हेप्नी’ भनेर उल्टै झपार्ने यी यस्ता कारण यो सरकारले राम्रो कामको सुरुवात गरे पनि सैद्धान्तिक थेउरीमा फस्ट डिभिजन ल्याए पनि व्यवहारमा पास हुन पनि सकेको छैन।

दुई तिहाई मत पाएको नेकपा सरकारको आलोचना हुनुमा सिर्फ प्रधानमन्त्री केपी शर्मा ओलीको मात्र दोष छैन। प्रधानमन्त्रीले विस्तार गरेका मन्त्री मण्डल पनि त कम छैन यस्तो सुनौलो अवसर दुई तिहाई मत जनताको आशिर्वाद भरोषा पाएको सरकार विभिन्न काण्डहरुको आलोचनाबाट अछुत रहन सकेन।

अनि मन्त्रालयका मन्त्री प्ररदेशका मुख्य मन्त्री त्यस मातहतको कार्यलय जनप्रतिनिधीहरु पुरै बाघ भए। सिंहदरबार गाउँगाउँमा भन्ने नारालाई नै गलत सावित गरे।

सबै ठाउँमा त भन्दिनँ केही सकारात्मक सिर्जनात्मक सुरुवात पनि भएका छन्। अधिकांश जनप्रतिनिधिहरू विभिन्न काण्डमा यसरी फसेका छन् उनीहरूको कारण सिङ्गो सरकारले विरोध आलोचना खप्नु परेको छ।

सरकारले गर्दै नगरेको भन्ने होइन केही राम्रा कामको सुरुवात गर्‍यो। तर, थाहा छैन कतिको सफल भयो। उनीहरु पास मार्क भन्छन् पास मात्र भयो मार्कसिटका कुरा गर्छन्। नागरिकको भावना अनुसार कतिको काम भयो त्यतातिर ध्यान छैन।

मेलम्ची खानेपानीको चर्चा भएको बीस पच्चिस वर्ष भयो कति वटा मन्त्रीले त्यही काममा डिग्री हाशिल गरे। कतिले बोर्डफस्ट ल्याए कतिले पास मार्क ल्याए कति फेल भए सरकारले पास फेलको मूल्याङ्कन गरिरह्यो। तर, वोर्ड फस्ट हाने पनि पास मात्र भए पनि आजसम्म मेलम्ची अलपत्र छ। यो एउटा उदाहरण मात्र हो।

यसको सबै जिम्मा यही दुई तिहाईले लिनुपर्छ भन्ने छैन। यस अगाडिका पास र फेल भएका मन्त्रीले यो मन्त्रालय पछि कति वटा मन्त्रालय यसै गरि पास र वोर्ड फस्ट वा फेलमा अलपत्र छाडे यो मुख्य विषय हो। 
काम नै गर्न नसक्ने व्यक्तिलाई जवरजस्त पास मार्क बनाई धकेल्ने हाम्रो संस्कार नै बनेको छ।

कयन राष्ट्रिय गौरवको विकास निर्माण  ठेक्का लिएका दिएका आयोजनाहरु अलपत्र छ ठेकेदार कुलेलाम ठोकेको जगजायर छ। तर, पनि सम्बन्धित मन्त्री मन्त्रालयलाई फेल गराउन सक्ने ल्याकत सरकारको छैन।मुख्य आलोचनाको विषय यीनै हुन्।

ब्यक्ति पास भयो होला फस्ट नै भयो होला त्यसले खासै महत्व राख्दैन। उसले गरेका सकारात्मक कामको सुरुवातले सबै भन्दा बढी महत्व राख्छ। 

त्यसको हिसाब यति बेला हुन्छ जब नागरिकले  चाहे अनुसारको विकास हुन्छ जनप्रतिनिधिले गरेको बाचा देखाएको सपना अनुरुप काम हुन्छ। सपना चाहीँ चन्द्रमा छुने देखाउने अनि भर्‍याङ चढ्न पनि थर्थराउने। भएको यही हो।
सुरुवातमा सपना बाड्नु बाँडे काम गर्छु भन्नेले पनि बाडे। जानेकाले पनि बाडे। थाहा नै नभएकाहरुले पनि अरुले लेखिदिएको सपना बाँडे। 

काम गर्न त मनदेखि भोक जाग्न पर्यो नि। जबरजस्त अरूले देखाएको सपना बाढेर कही पुरा हुन्छ। फेरि पनि आग्रह छ। दुई तिहाईलाई भाषणमा होइन ब्यवहारमा जनभावना अनुरुप काम गरि जनताको मन जित्न सफल होस्। 
‍दुई तिहाईलाई दुई वर्ष पुगेको उपलक्ष्यमा बधाई र शुभकामना।

प्रकाशित मिति: : 2020-02-20 04:21:18

प्रतिकृया दिनुहोस्