नेपालमा सेलेब्रिटी हुन न धेरै प्रतिभा हुनुपर्छ, न धेरै काम नै गर्नुपर्छ। मुलुक सानो हुनुको फाइदा हो यो।त्यसमा पनि स्यालहुइँया सञ्चारकर्मको खेती नै भएको छ, रातारात सेलेब्रिटी जन्माउने। त्यसले पनि धेरै पित्तललाई सुन हुने मौका मिलेको छ।
सामान्यत: ग्लामर्स कर्मका चर्चित मानिसलाई सेलेब्रिटी भन्ने चलन हो। तर, अहिले यसको क्षेत्र फराकिलो भएको छ। जुनसुकै क्षेत्रका पनि चर्चामा आउने व्यक्ति अब सेलेब्रिटी हुन सक्छन्। समयसँगसँगै सेलेब्रिटीको परिभाषा पनि बदलिदिएको छ।
नेपालमा केही समय पहिला एउटा सेलेब्रेटी प्रकरण प्रकाशमा आयो। सेलेब्रेटी थिइन्, गायिका आस्था राउत। उनले त्रिभुवन विमानस्थलमा आफू सेलेब्रिटी भएकाले विशेष व्यवहार पाउनुपर्ने ठानिन्। कफी लिएरै सुरक्षा जाँचमा जान खोजिन्, ज्याकेट लगाएरै जान खोजिन्। प्रहरी रमिता श्रेष्ठले त्यसो हुन दिइनन् । त्यसपछि उनले प्रहरीलाई यति धेरै गाली गरिन् कि सेलेब्रिटी त के सामान्य मानिसले पनि त्यस्तो गाली गर्न सक्दैन। भर्वल मात्र हैन, नन-भर्वल सञ्चार पनि अपाच्य थियो उनको।
अपवाद 'दिवाना' बाहेक बाँकि कसैलाई पनि उनको गालीको त्यो डिग्री सैह्य भएन। आम मानिसले सामाजिक सञ्जालमा उनको सेलेब्रिटीको पारो नराम्ररी झारी दिए। त्यसपछि उनले माफी मागिन्। तर, उनले माफी माग्दाको भर्वल र नन भर्वल सञ्चार पनि खासै रूचिकर थिएन।
उनको प्रदर्शनीप्रति जनमत भड्केको चाल पाएपछि नेपाल प्रहरीले पनि मौकामा चौका हान्ने नै भयो । त्यसपछि के चाहियो र?, आस्थाले माफी माग्दा पनि धर पाइनन्। अभद्र व्यवहार गरेको भन्दै प्रहरीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गर्यो।
सिक्किमबाट फर्केर उनले प्रहरीसमक्ष आत्मसमर्पण गरिन्। प्रहरीले सात दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने समय माग्यो। तर, प्रमुख जिल्ला अधिकारीले चार दिनको मात्र समय दिए। हिरासतमै लैजाने भएपछि उनी पनि के कम ?, विरामी भैदिइन्। त्यसपछि उनको लागि पनि त्रिपुरेश्वरस्थित सुविधासम्पन्न ब्लु क्रस अस्पताल नै हिरासत बन्यो। सबैलाई थाहा थियो, उनी विरामी भएकी हैनन्, विरामी भैदिएकी थिइन्।
जब प्रहरीले हिरासतमै राख्ने भयो, त्यसपछि भने आममानिसमा पनि आस्थाप्रति केही दया पलायो । उनीहरूले भने, माफी मागी सकेपछि त हिरासतको बास नबसाएको भए हुन्थ्यो । यो दवावदे गर्दा प्रहरीले तेस्रो दिन नै अनुसन्धान सकेको भन्दै जिल्ला प्रशासन कार्यालयमा बुझायो। दुई रात अस्पताललाई हिरासत बनाएपछि चारहजार धरौटीमा उनी छुटिन् ।
छुटिएपछि उनले प्रतिक्रिया दिइन्, 'प्रहरी साँच्चै जनताको साथी हो रहेछ ।' उनी दुई रात अस्पतालमा सुतिन्। यसबीचमा उनले प्रहरीसँग खासै उठबस नै गरिनन् । तर, पनि रातारात उनलाई प्रहरीका बारेमा व्रम्हज्ञान प्राप्त भयो।
आस्थाले पहिला महिला प्रहरीलाई प्युसो, डण्ठेनी भन्दा पनि जनताले बढी नै ठाने । पछि 'प्रहरी साँच्चै जनताको साथी हो रहेछ' भनिन्, जनताले त्यो पनि सही ठानेनन्। आस्थाले सिरियस भएरै यसो भन्दा दुबैपटक जनता हाँसे । किनकि, उनले दुबैपटक सही बोलेकी थिइनन्, बढी बोलेकी थिइन् ।
नेपाली समाजनौ दिनमा नौलो वीस दिनमा बिर्स्यो समाज हो । केही दिन आस्थामय भएको समाजले केही दिनपछि नै उनलाई पूरै विस्मृतिमा धकेली दियो। अहिले पनि उनको मुद्दा चलिरहेकै होला । तर, त्यसपछि कसैले मतलव नै राखेको छैन।
आस्थाले पहिला महिला प्रहरीलाई प्युसो, डण्ठेनी भन्दा पनि जनताले बढी नै ठाने । पछि 'प्रहरी साँच्चै जनताको साथी हो रहेछ' भनिन्, जनताले त्यो पनि सही ठानेनन्। आस्थाले सिरियस भएरै यसो भन्दा दुबैपटक जनता हाँसे । किनकि, उनले दुबैपटक सही बोलेकी थिइनन्, बढी बोलेकी थिइन् ।
यो घटनाले सबैभन्दा बढी हानी आस्थालाई भयो। उनलाई अधिकांश जनताले एक असामान्य मानिसका रूपमा लिए। उनले गाएको 'चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा' बोलको गीत पनि ओठे लाग्यो उनीहरूलाई । उनी रातारात हिरोबाट जीरो भइन्। उनको फ्यान फलोइङको ग्राफ पनि यसरी ओरालो लाग्यो कि पहिरो नै गयो भन्दा पनि हुन्छ।
आस्थाले नआफूलाई सेलेब्रिटी मान्ने हो भने आफ्नो अडानमा बस्नुपर्थ्यो। उनी आफ्नो अडानमा दुई रात पनि टिकिनन् । जब मानिस आफ्नो अडानमा रहन सक्दैन, ऊ पिपलपाते हुन्छ। पिपलपाते मानिसको भर हुदैन। यो परिघटनामा आस्था सेलेब्रिटी हुन् कि हैनन्, त्यसैमा प्रश्नचिन्ह लाग्यो। यदि हुन नै भने पनि उनी एक पिपलपाते सेलेब्रिटीभन्दा बढी केही भैनन्।
नेपाली जाति मस्तिस्कले हैन, मनले चल्ने जाति हो। त्यसैले यहाँ सेलेब्रेटीमा चढ्न पनि सजिलो छ, सेलिब्रेटीबाट खस्न पनि सजिलो छ। नेपाली जाति कागले कान लग्यो भनेपछि कान नछामी काग खेद्ने जाति हो। यसका फाइदा पनि छन्, बेफाइदा पनि छन्। फाइदा रातारात हिरो हुन सकिन्छ, बेफाइदा रातारात जीरो पनि होइन्छ।
आस्था त नेपाली सेलेब्रिटीकी एक प्रतिनिधि पात्र मात्र हुन्। अपवादलाई छोडेर नेपाली सेलेब्रिटीको कुरा गर्दा 'हात्ती र हात्तीछाप चप्पल उस्तै उस्तै हुन् नानू' नै हुन् ।