काठमाडौँको वटुमा सबैभन्दा अग्लो घर कसको?
साथीभाइका बीचमा कुरा हुँदा सबैको औँला तेर्सिन्थ्यो रोनिका श्रेष्ठतर्फ। अनि उनी मनमनै दोहोर्याउँथिन् 'वटुको सबैभन्दा अग्लो घर मेरो'। नाक गर्वले ठाडो हुन्थ्यो।
रोनिका सानै थिइन्। सबैलाई जस्तै उनलाई पनि आफ्नो घर निकै प्यारो थियो। त्यो घर जहाँ उनी हरेक चाडपर्वमा रातो माटोले पोतेर लक्ष्मी भित्र्याउँथिन्। साथी संगीसँग लुकामारी खेल्न पर्याप्त ठाउँ पनि त्यही घरभित्र थियो। ठूलाबडालाई घुर्की लगाउँदै टाउको ठोक्काउन पनि त्यही घरको भित्तो चाहिन्थ्यो उनलाई।
रोनिका हुर्कँदै गइन्। इन्द्रचोकबाट केही मिटरभित्र रहेको उनको टोल वटुमा बस्ती बढ्दै गयो। चारै दिशाबाट रोनिकाको घरलाई छेक्दै गयो। फराकिलो आँगन बाँकी रहेन। घाम परेर न्यानो हुने उनको कोठा दिउँसै अन्धकार हुन थाल्यो। बाटो साँघुरियो। उनको अग्लो कहलिएको घर होचो भयो।