नेपालगञ्ज सुर्खेत जोड्ने रत्नराजमार्गको देउराली नजिकै बस र जीप एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बाँके बैजनाथ गाउँपालिका–२ निवासी जीप चालक राजकुमार चौधरी रहेका छन्। कोहलपुरबाट बर्दियाको बबईतर्फ जाँदै गरेको भे १ च १६३१ नम्बरको जीपलाई सुर्खेतबाट आउँदै गरेको भे १ ख २७५९ नम्बरको बसले ठक्कर दिँदा चालक चौधरी गम्भीर घाइते भएका थिए।
शिक्षण अस्पताल कोहलपुरमा उपचारकै क्रममा गम्भीर घाइते चौधरीको गएराती मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्रकुमार बमले जानकारी दिए।
उक्त दुर्घटनामा जीपका सहचालक मनोज चौधरी सहित अन्य छ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।