बागलुङमा बाल निगरानी कक्ष

जिल्ला प्रहरी कार्यालय बागलुङमा बाल निगरानी कक्ष स्थापना गरिएको छ।

आपराधिक र गैरकानूनी क्रियाकलापमा संलग्न भएका बालबालिकामाथि निगरानी र अनुसन्धान गर्नका लागि उक्त कक्ष स्थापना गरिएको जिप्रकाका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए।

'१८ वर्षमुनिका बालबालिकालाई अरु व्यक्तिसँगै हिरासतमा राखेर अनुसन्धान गर्न नमिल्ने भएकाले अलग्गै निगरानी कक्ष बनाइएको हो' उनले भने, 'बालबालिका विभिन्न घटनामा मुछिएर प्रहरीमा आइरहने, अभिभावकले पनि बच्चा सुध्रियोस् भनेर प्रहरीमै राख्न चाहेकाले बाल निगरानी कक्षको आवश्यकता खड्किइरहेको थियो।'

सो कक्षमा बालमैत्री व्यवहारका साथै बाल मनोविज्ञानमा असर नपुग्ने गरी प्रहरीले अनुसन्धान गर्ने प्रहरी भट्टको भनाई छ।

'गम्भीर अपराधबाहेकका घटनामा संलग्न बालबालिकालाई प्रहरीले अदालतबाट म्याद लिई २१ दिनसम्म निगरानी कक्षमा राख्नेछन्', उनले भने, 'सुध्रे पश्च्यात अभिभावकलाई जिम्मा लगाइनेछ।'

प्रकाशित मिति: : 2020-02-09 00:35:02

प्रतिकृया दिनुहोस्