फोटो अफ द इयर २०७६ को उपाधि नभेष चित्रकारलाई

फोटो पत्रकार क्लवको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको फोटो प्रतियोगिता २०७६ को उपाधि नभेष चित्रकारले जितेका छन्।

चित्रकारले हाइड्रोसेफालुस रोगका कारण अकालमै मृत्युवरण गरेका बरियारपुर रौतहटका दुई वर्षिय बालक बजरंगी मिश्रले आफ्नो आमालाई मृत्यु पहिले हात हल्लाउँदै गरेको फोटो यो वर्षको फोटो अफ द इयर घोषित भएको हो।

चित्रकारले फोटो प्रतियोगिता २०७६ को उपाधिसँगै अन्य दुई विधामा प्रथम र एउटा विधामा तेस्रो स्थान हात पार्न सफल भएका छन् ।

यसैगरी सुरज श्रेष्ठको फोटोले नेपाल स्माइल विधा जित्यो भने डेली लाइफ विधामा गोपेन राईले बाजी मारे।

त्यस्तै दिपेन श्रेष्ठले न्युज विधाको उपाधि जित्दा नेचर एन्ड वाइल्ड लाइफमा नभेष चित्रकारले तथा कल्चर एन्ड टुरिजममा सुबिर थापाले बाजी मारे।

त्यस्तै स्पोर्टस विधाको उपाधि विकास द्वारेले जिते भने फोटो स्टोरीमा नभेष चित्रकारको फोटो प्रथम भयो ।

डेली लाइफमा रोविक उपाध्यायको फोटो दोस्रो तथा सुरज ताम्राकारको फोटो तेस्रो भयो। न्युज विधामा एलिट जोशीको फोटो दोस्रो तथा केशव थापा तेस्रो भए। नेचर एन्ड वाइल्ड लाइफमा दिपेन श्रेष्ठको फोटो दोस्रा बन्दा दिपक बुढाथोकीको फोटो तेस्रो भयो।

‘कल्चर एन्ड टुरिजममा प्रमिन मानन्धरको फोटो उपविजेता तथा रोविक उपाध्यायको फोटो तेस्रो भयो। स्पोर्टसमा सुनिता डंगोलको फोटो दोस्रो तथा दिनेस गोलेको फोटो तेस्रो भयो।

नेपाल स्माइलमा सुलभभक्त श्रेष्ठको फोटो दोस्रो तथा नभेष चित्रकारको फोटो तेस्रो भयो। त्यस्तै फोटो स्टोरीमा रोविक उपाध्यायको फोटो दोस्रो तथा चन्द्रबहादुर आलेको फोटाहरु तेस्रो भयो ।

एजेन्सी फ्रान्स प्रेस (एएफपी) का साउथ एसिया प्रमुख वरिष्ठ फोटो पत्रकार जोअल सामदको अध्यक्षता रहेको निर्णायक मण्डलमा वरिष्ठ फोटोग्राफर मणि लामा, वरिष्ठ फोटो पत्रकार विकास रौनियार, किम्फका निर्देशक तथा वरिष्ठ पत्रकार रम्यता लिम्बु, वरिष्ठ लेखक तथा डकुमेन्ट्री निर्माता शेखर खरेल र वरिष्ठ फोटो पत्रकार एवम् क्लबका निवर्तमान अध्यक्ष प्रकाश माथेमा थिए।

निर्णायक मण्डलले विजेतासहित प्रदर्शनीको लागि उत्कृष्ट १ सय ७६ फोटोहरु छानेको छ ।

फोटो  अफ द इयर विजेताले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ  प्राप्त गरेका छन् ।

प्रतियोगितामा छानिएको उत्कृष्ट १ सय ७६ फोटोको प्रदर्शनी काठमाडौंमा यही फागुन १८ देखि २३ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा र काठमाडौं बाहिर विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा गरिनेछ ।

नेपाल फोटो प्रतियोगिता २०७६ मा समावेश सात विधाअन्तर्गत सहभागी ७ सय १५ व्यावसायिक र एमेच्योर फोटोग्राफरको ‘डेली लाइफ’ मा १ हजार २ सय ६७, कल्चर एन्ड टुरिजममा १ हजार ४ सय ३३, नेचर एन्ड वाइल्ड लाइफमा १ हजार ९८, न्युज फोटोमा ५ सय २, स्पोर्ट्समा ५ सय ७५, नेपाल स्माइलमा ९ सय १० र फोटो स्टोरीमा ४४ वटा फोटो कथाको ४ सय ४० गरी जम्मा ६ हजार २ सय २५ फोटो प्रतिस्पर्धामा थिए।

विजेताहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार, आइएमई ग्रुपका निर्देशक हेमराज ढकालले ट्रफि, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले फोटो पत्रकार क्लबले देशभरिबाट समावेश  फोटोमध्येबाट उत्कृष्ट छानेर पुरस्कृत गरेकोमा क्लबसहित आयोजनामा खट्नुभएका सबैलाई धन्यवाद दिए । उनले भने, ‘फोटोको शक्ति हजार शब्दभन्दा बढी रहेको हामीले प्रजातन्त्रका लागि गरेका आन्दोलनको सफलताले पनि प्रमाणित गरेका छन्,’ उनले भने, ‘यस्ता फोटो प्रतियोगिताले हाम्रो देशको राष्टिय एकता, तराई, पहाड र हिमालको सामाजिक सद्भाव बढाउँछन्, अझ सुदृढ पार्नेछन् । देशका कुनाकुना फोटोका लागि उर्वर छन् र त्यहाँका फोटो खिचेर ल्याउनसके ती फोटोहरुबाट हाम्रा फोटोग्राफर साथीहरुले रोयल्टीसमेत कमाउन सक्छन्।’

मन्त्री भट्टराईले यस वर्ष सरकारले भिजिट नेपाल २०२० पर्यटन वर्षका रुपमा मनाइरहेको उल्लेख गर्दै नेपाल पर्यटनका लागि सुरक्षित रहेकाले नेपाल घुम्न हिच्किचाउन नपर्ने बताए । उनले यो प्रतियोगिताले पर्यटन प्रवद्र्धनमासमेत सघाउने विश्वास व्यक्त गरे।

आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्राले फोटो पत्रकार क्लबसँग निरन्तर सहकार्य गर्ने अवसर पाएकोमा पिजे क्लबलाई धन्यवाद दिँदै भने, सामाजिक सञ्जाल फेसबुकमा समेत कुनै स्टाटस राख्दा जति लाइक आउँछ फोटोसहित राख्दा अत्यधिक पाउँछु । यसले फोटोको महत्व दर्शाउँछ । उनले यस्ता कार्यक्रमले भिजिट नेपाल इयर २०२० लाई समेत सफल पार्न सघाउने अपेक्षा व्यक्त गरे ।

निर्णायक मण्डलका सदस्य शेखर खरेलले प्रतिस्पर्धामा सहभागी सबै फोटोहरु राम्रा रहेको तर पुरस्कृत भने केही मात्र हुने भएकाले ६ हजार जति फोटाबाट उत्कृष्ट छान्न कठिन भएको बताए। उनले यस्ता प्रतियोगिता व्यावसायिक र गैरव्यावसायिक फोटोग्राफर सबैका लागि आफ्नो क्षमता प्रस्तुत गर्ने गतिलो मञ्च भएको उल्लेख गरे ।

शिखर इन्स्योरेन्स कम्पनीका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले ५ वर्षयता फोटोपत्रकार क्लबसँग सहकार्य गरिरहेको उल्लेख गरे । उनले शिखरले फोटो पत्रकारको स्वास्थ्य बिमाका साथै क्यामेरालगायत उपकरणको बिमा शिखर इन्स्योरेन्सले गरिरहेको बताए । उनले फोटो पत्रकारको स्वास्थ्य र क्यामेराको बिमा शुल्कमा ५० प्रतिशत छुट दिएर बिमा गरिरहेको जानकारी दिए । यसका साथै उनले यसपटकको प्रतियोगिताका सबै विधाका विजेताहरुको स्वास्थ्य र क्यामेराको बीमा निःशुल्क शिखर इन्स्योरेन्सले गरिदिने घोषणासमेत गरे ।

क्लवका अध्यक्ष विकास कार्कीले यसपटकको सफलताले आगमी दिनमा यस्तै प्रतियोगिता गर्न उत्साह थपेको बताए । उनले प्रतियोगिताको दौरानमा केही त्रूटी भए पनि यस्ता त्रूटीलाई आगामी दिनमा सच्याउँदै झन् उत्कृष्ट प्रतियोगिता गर्ने बताए। उनले भने, ‘सातौं संस्करणसम्म आउँदा सहभागीहरुको सहभागीताले हामीलाई हौस्याएको छ । यस्ता प्रतियोगिता आगामी दिनमा पिजे क्लवले गर्दै जानेछ ।’

कल्चर एन्ड टुरिजम विधामा पहिलो भएको तस्बिर। फोटोः सुबिर थापा

कल्चर एन्ड टुरिजममा उपविजेता भएको प्रमिन मानन्धरको फोटो।

कल्चर एन्ड टुरिजममा तेस्रो भएको रोविक उपाध्यायको फोटो।

डेली लाइफ विधामा पहिलो भएको गोपेन राईको तस्बिर।

डेली लाइफमा दोस्रो रोविक उपाध्यायको फोटो।

डेली लाइफमा सुरज ताम्राकारको तेस्रो भएको फोटो।

नेचर एन्ड वाइल्ड लाइफमा पहिलो भएको नभेष चित्रकारको तस्बिर

नेचर एन्ड वाइल्ड लाइफमा दोस्रो भएको दिपेन श्रेष्ठको फोटो

नेचर एन्ड वाइल्ड लाइफमा तेस्रो भएको दिपक बुढाथोकीको फोटो।

नेपाल स्माइल विधामा पहिलो भएको सुरज श्रेष्ठको फोटो

नेपाल स्माइलमा दोस्रो भएको सुलभभक्त श्रेष्ठको फोटो

नेपाल स्माइलमा तेस्रो भएको नभेष चित्रकारको फोटो।

न्युज विधामा पहिलो भएको दिपेन श्रेष्ठको तस्बिर।

न्युज विधामा दोस्रो भएको एलिट जोशीको फोटो।

न्युज विधामा तेस्रो भएको केशव थापाको फोटो।

स्पोर्टस विधाको उपाधि विजेता विकास द्वारेको तस्बिर।

स्पोर्टसमा दोस्रो भएको सुनिता डंगोलको फोटो ।

स्पोर्टसमा तेस्रो भएको दिनेस गोलेको फोटो।

उपाधिक विजेताहरु अवार्डसहित।

सबै तस्बिरहरुः पिजे क्लब

प्रकाशित मिति: : 2020-02-08 07:25:25

प्रतिकृया दिनुहोस्