भारतीय नागरिकको हत्या गरी शवलाई जलाएको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
बिर्तामोड नगरपालिका–२ चारपानेमा डेरा गरी बस्ने भारतीय नागरिक ४० वर्षीय सुवास शेखको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका सोही ठाउँका २० वर्षीय करन चौधरी र १८ वर्षीय लक्ष्मण यादवलाई इलाका प्रहरी कार्यालय अनारमनीले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाका अनुसार मादक पदार्थ सेवन गरेर सामान्य विवादमा शेखको संवेदनशील अङ्ग (अण्डकोषसहितको गुप्ताङ) छिनाएर हत्या गरेको हुन्। उनले भने ‘हत्यापछि चौधरी र यादवले उनको शवलाई स्थानीय ऐनकुमार राजवंशीको खेतमा राखिएको परालमा जलाएका रहेछन्।’
शेख चारपानेमा विगत १० वर्षदेखि बसोवास गर्दै आएको र सोही क्षेत्रमै मजदूरी गर्दै आएका थिए।
‘सोमबार साँझ तीनै जना स्थानीय होटलमा सँगै बसेर मादक पदार्थ सेवन गरेको र आपसी विवादका क्रममा शेखलाई चौधरीले टाउकोमा ढुङ्गा प्रहार गर्दै बेहोस बनाएका रहेछन्।,’ एसपी कोइरालाले भने ‘हत्यापछि पराल राखेको ठाउँसम्म घिसारेर पु¥याएको र संवेदनशील अङ्ग काटेर आगो लगाएको अनुसन्धानबाट खुल्न आएको छ।’
पक्राउ परेका चौधरी र यादवलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको एसपी कोइरालाले बताए।
प्रहरीले पक्राउ परेका व्यक्तिको साथबाट संवेदनशील अङ्ग काट्न प्रयोग गरिने चक्कु एक थान, मृतकलाई आगो लगाउन प्रयोग गरिने लाइटर एक थान, मृतकको लेनोभो कम्पनीको कालो मोबाइल एक थान, मृतकले प्रयोग गरेको सिम कार्ड, घटना घटाउँदा लक्षण यादवले लगाएको रागतजस्तो रातो लागेको दाग भएक एक थान भेस्ट र घटना घट्नुभन्दा अगाडि बुद्धिमाया राईको पसलबाट किनेको चुरोट तथा चुरोटका ठुटासमेत बरामद गरेको छ।