नेपालले दियो चीनलाई एक लाख प्रोटेक्टिभ मास्क

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालले चीनलाई एक लाख प्रोटेक्टिभ मास्क सहयोग गरेको छ। बिहीबार बालुवाटारमा बसेको बैठकमा चीनलाई मास्क सहयोग गर्ने निर्णय  भएको थियो।

शुक्रबार परराष्ट्र मन्त्रालयमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीलाई मास्क प्रदान गरेका हुन्।

परराष्ट्र मन्त्रालयले चीनसँगको मित्रताका स्वरूप एक लाख प्रोटेक्टिभ मास्क प्रदान गरेको जनाएको छ। कोरोना भाइरस श्र्वासप्रस्वासबाट सर्ने रोग भएको हुदाँ चीनमा अहिले मास्कको माग अत्याधिक बढेको छ। सोही माग पुरा गर्न नेपालले चीनलाई मास्क सहयोग गरेको हो।

चीनकाे हुबेई प्रान्तको राजधानी वुहानबाट डिसेम्बर अन्तिम सातादेखि फैलिएको नोवेल कोरोना भाइरसका कारण बिहीबारसम्म ६ सय ३० जनाको ज्यान गइसकेको छ।

पछिल्लो तथ्याङ्क अनुसार कोरोना भाइरसको सङ्क्रमणका कारण चीनमा ३० हजारभन्दा बढी व्यक्तिले उपचार गराइरहेका छन्।

चिनियाँ मुख्य भूमि बाहिर विभिन्न ३० स्थानमा करीव २४० व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएको  बताइएको छ। अहिलेसम्म हङकङ र फिलिपिन्समा दुई व्यक्तिको मृत्यु भएको छ।

पछिल्लो तथ्याङ्क अनुसार कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा बढी क्रुज जहाज, डाइमण्ड प्रिन्सेसमा ६१ जना रहेका छन् भने सिंगापुरमा ३०, जापानमा २५, थाइल्याण्डमा २५, हङकङमा  (मृत्यु भएका एक व्यक्तिसहित) २४, दक्षिण कोरियामा २३, ताइवानमा १६ अष्ट्रेलियामा १५ र मलेसियामा १४ व्यक्तिमा भएको छ। 

त्यसैगरी जर्मनीमा १३,  संयुक्त राज्य अमेरिकामा १२, भियतनाममा १०, मकाउमा १०, फ्रान्समा छ, क्यानडामा पाँच, संयुक्त अरब इमिरेट्समा पाँच, बेलायतमा तीन, भारतमा तीन, फिलिपिन्समा (मृत्यु भएका एक व्यक्तिसहित) तीन व्यक्तिमा नयाँ कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। 

रूस र इटाली मा दुई दुई व्यक्तिमा उक्त भाइरसको सङ्क्रमण देखिएको छ। नेपाल, श्रीलङ्का, कम्बोडिया, फिनल्याण्ड, स्पेन, स्वीडेन, बेल्जियममा एक एक जनामा नयाँ कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ।

प्रकाशित मिति: : 2020-02-08 03:38:27

प्रतिकृया दिनुहोस्