कलंकीमा बुधबार मध्यराति दुई जनाको मृत्यु हुने गरी मोटरसाइकललाई ठक्कर दिएर भागेको टिप्पर नख्खुडोलमा भेटिएको छ। नख्खु खोलाको पुल छेऊ चन्द्रसूर्य ग्यारेजमा लुकाएर राखेको अवस्थामा टिप्पर भेटिएको हो।
टिप्परले ठक्कर दिँदा घाइते भएका रौतहट कटहरिया गाउँपालिका ४ का १९ वर्षीय राकेशकुमार चौधरी र कटहरिया ७ का २४ वर्षीय मुन्ना चौधरीको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको प्रहरीले जनाएको थियो।
प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई कलङ्कीको अण्डरपासमा बा४ख ८५७९ नम्बरको टिप्परले पछाडिबाट ठक्कर दिएको थियो।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले टिप्परलाई नियन्त्रणमा लिइएको बताए। उनले भने, ‘सीसी टीभी फुटेज र र्याडम चेकजाँचका क्रममा सम्भावित क्षेत्रमा खोजतलास गर्ने क्रममा नियन्त्रणमा लिएका छौं।’
उनका अनुसार सवारीधनी प्रहरीको सम्पर्कमा आइसकेका छन्। यद्यपि, चालक भने फरार छन्। उनको पनि खोजी भइरहेको बोगटीले बताए।