१३ जनालाई कोरोना भाइरसकाे परीक्षण गरियो, कसैमा पोजेटिभ देखिएन: स्वास्थ्य मन्त्री

बिएल संवाददाता

काठमाडाै‌ं

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अहिलेसम्म नेपालमा १३ जनामाथि कोरोना भाइरस संक्रमण भए/नभएको परीक्षण गरिएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सत्ता र प्रतिपक्ष सांसदहरूले कोरोना भाइरस संक्रमणबारे उठाएको प्रश्नको जवाफ दिँदै उनले उक्त जानकारी दिएका हुन्।

‘भाइरसको आशंका गरिएका १३ जनामा परीक्षण गएिको थियो। परीक्षण गरिएको एक जनामा पनि कोरोना संक्रमण देखिएको छैन। यदि देखियो भने भेनिटलेटर सहितको छुटै कोठामा राखेर हामीले उपचारको व्यवस्था गर्नेछौं।’ उनले भने।

उनले यसअघि जनवरी ९ मा चीनको वुहान पढेर आएका एक व्यक्तिमा कोरोना भाइरस देखिएको कुरा असत्य रहेको बताए। ‘भाइरस देखिएको दस दिनसम्म पनि पोजेटिभ नै देखिएको थियो। त्यसपछि परीक्षण गर्दा नेगेटिभ देखियो,’ उनले भने, ‘कसैमा पोजेटिभ देखिएन।’

मन्त्री ढकालले कोरोना भाइरसको सङ्क्रमण देखिएकाबाहेक आउन चाहने नेपालीलाई सरकारले विलम्ब नगरी ल्याउने तयारी गरेको बताए। मन्त्री ढकालका अनुसार नेपालमा ल्याएपछि १४ दिनसम्म परीक्षणमा राखिनेछ। मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयमा रहने गरी ३०० शय्यासम्मको अस्पताल बनाउने र भविष्यका लागि यस्ता जोखिमबाट बच्नका लागि अस्पताल बनाउने तयारीमा रहेको जानकारी दिए।

मन्त्री ढकालले नेपाल फर्कन चाहनेले फारम भरिरहेको र आउन चाहने सबैलाई सरकारले ल्याउने तयारी गरेको जानकारी दिए। उनका अनुसार विमानस्थलमा ल्याएका व्यक्तिलाई परीक्षणका लागि हेल्थडेक्स राखेको र डाक्टरको नेतृत्वमा २४ घण्टाकै सेवा तथा अस्पतालसम्म लानका लागि एम्बुलेन्स तयारी छ। जुनसुकै मुलुकबाट आएका व्यक्तिको परीक्षण गर्ने व्यवस्था छ। 

चीनको वुहान प्रान्तबाट सन् २०१९ डिसेम्बर ३१ मा पहिलोपटक फैलिएको कोरोना भाइरस अहिले चीनको २२ प्रान्तमा तथा विश्वका २३ मुलुकमा फैलिएको छ। विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वमा अहिले १७ हजार ३५१ मा सो भाइरस देखिएको छ। 

प्रकाशित मिति: : 2020-02-05 02:55:33

प्रतिकृया दिनुहोस्