मोबाइलको मेमोरी कार्डको विषयमा श्रीमतीको हत्या, श्रीमानसहित चार जना पक्राउ

मोबाइलको मेमोरी कार्डको विषयमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानसहित चार जना पक्राउ परेका छन्। 

२२ वर्षीया चिन्तामणि पासवानको हत्या आरोपमा पक्राउ परेका श्रीमान् अनिल पासवान, ससुरा राधाकृष्ण पासवान, सासू कुमला पासवान र नन्द पुनिता पासवानलाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो। 

गएको माघ १८ गते मोबाइलको मेमोरी कार्डको विषयमा चिन्तामणिको नन्द पुनितासँग विवाद र झैझगडा भएको र त्यही विषयलाई लिएर परिवार नै मिलेर निर्ममतापूर्वक कुटपिट गरी, बुहारीको घाँटी थिचेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ। 

चिन्तामणिको हत्या गरेर ससुरा पक्षका व्यक्तिहरुले झुण्डिएर आत्महत्या गरेको भनि हल्ला–खल्ला गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखेर उनीहरु फरार भएको प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले जानकारी दिए। 

घटना शङ्कास्पद देखिएपछि अनुसन्धान गर्दै जाँदा प्रहरीले गएको माघ १९ गते जनकपुरधाम उपमहानगरपालिका ४ को पेठिया बजारबाट ससुरा र श्रीमानलाई जनकनन्दनी गाउँपालिका २ को बलहा टोलबाट लुकिरहेको अवस्थामा पक्राउ गरेको थियो। साथै सासु र नन्दलाई घरबाटै पक्राउ गरिएको हो। 

पक्राउ परेकाहरुविरुद्ध कर्तव्य ज्यानको मुद्दा दायर गरी कारबाही प्रक्रिया अघि बढाइएको एसपी बस्नेतले जानकारी दिए। 
 

प्रकाशित मिति: : 2020-02-04 04:40:47

प्रतिकृया दिनुहोस्