विषाक्त खानाका कारण मरे, तिन गैँडा

चितवन राष्ट्रिय निकुञ्जमा कालगतिले मरेका १४ गैँडामध्ये तीन विषाक्त खानाले मरेका छन्।

पूर्वी नवलपरासीको सेहेरीमा शनिबार मृत फेला परेको गैँडा विषाक्त खानाका कारण मरेको प्रारम्भिक अध्ययनले देखाएको छ।

निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठका अनुसार गत हप्ता तमासपुर क्षेत्रमा एउटा गैँडा र एक महिनाअघि गाँजीपुर क्षेत्रमा अर्को एक गैँडा विषाक्त खानाकै कारण मरेको प्रारम्भिक अध्ययनले देखाएको छ।

गत साता मरेको गैँडाको पेटमा १० महिनाको बच्चासमेत रहेको थियो। 'गैँडाको आन्द्रा र पेटमा रक्तश्राव भएको शव परीक्षणमा देखिएको छ' उनले भने, 'कारण प्रष्ट हुनका लागि विषादी परीक्षण गर्न प्रयोगशालाको खोजी कार्य भइरहेको छ।'

ती गैँडाका अङ्गको नमूना सुरक्षित राखेको बताउदैं विषादीको परीक्षण कहाँ हुन्छ बुझ्ने काम पनि भइरहेको उनले बताए। 'मरेका तीनै गैँडाको अन्य महत्वपूर्ण अङ्गमा कुनै समस्या देखिएको छैन्' उनले भने।

सबै गैँडाको पेटमा तोरी देखिएको भन्दै विषाक्त तोरीका कारण मरेको पनि हुन सक्ने अनुमान उनको छ। यद्यपि प्रयोगशालाबाट परीक्षण भएपछि मात्र यकिन भन्न सकिने उनको भनाइ छ।

शनिबार सेहेरीमा भेटिएको गैँडा भाले हो भने अन्य दुई पोथी गैँडा हुन्। यससँगै अन्य कालगतिले मरेका गैँडा बुढो भएर, जुधेर, दलदलमा फसेर र करेन्ट लागेर मरेको बताउदैं उनले भने, 'गत कात्तिकदेखि चालु महीनासम्म प्राकृतिक कारणले धेरै गैँडा मर्ने गरेको छ।'

प्रकाशित मिति: : 2020-02-03 05:56:56

प्रतिकृया दिनुहोस्