कञ्चनपुरमा जङ्गली हात्तीको बथानद्वारा अन्न बाली क्षति 

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको चुरे क्षेत्र नजिकका बासिन्दाले लगाएको अन्न बालीमा जङ्गली हात्तीको बथानले व्यापक क्षति पुर्याउन थालेको छ।

नगरपालिका–८ मा मात्रै हात्तीको बथानले सात जना किसानले खेतमा लगाएको गहुँलगायतको बालीमा क्षति पुर्याएको हो।

तीन दिनदेखि करीब २० सङ्ख्यामा रहेको हात्तीको बथानले गहुँ, केराउ, मसुरोलगायतको बालीमा नोक्सान गरेको वडाध्यक्ष बहादुरसिंह महराले जानकरी दिए।

हात्तीको बथान साँझ नपर्दै नजिकैका सामुदायिक वनबाट खेतमा छिरेर नोक्सान गर्न थाले पश्च्यात स्थानीयवासी हात्ती भगाउनकै लागि रातभर जाग्राम बस्दै आएको वडाध्यक्ष महराले बताए।

'खेतमै आगो बालेर हात्ती भगाउनका तीन दिनदेखि खेतमै बस्दै आएका छौं' स्थानीयवासी बिन्ता जगरीले बताइन्।

हात्तीको बथानले प्रतिवर्ष नगरपालिकाका वडा नं १, २, ३, ४, ५, ७, ८ र १२ का किसानले लगाएको धान, गहुँ, उखु र केरालगायतको बालीमा नोक्सान पुर्याउने वडाध्यक्ष महराको भनाई छ।

प्रकाशित मिति: : 2020-02-03 05:34:17

प्रतिकृया दिनुहोस्