दिउँसै घरमा चोरी गर्ने भगाैडा हवल्दारकाे समूह पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले कारको प्रयोग गरेर दिउँसै घरमा चोरी गर्ने समूहलाई पक्राउ गरेको छ।  

पक्राउ पर्नेमा दोलखा शैलुङ घर भएका ३० वर्षीय रवि कार्की, भंगालका राजन खनाल,काभ्रेका २० वर्षीय उपेन्द्र खरेल र खोटाङका मौलकुमार बि.क रहेका छन्। 

महाशाखाका अनाुसार कार्कीसहित खनाल र खरेल मिलेर चोरीको ग्याङ नै चलाइरहेका थिए। कार्की प्रहरी सेवा छाडेर भागेको पूर्वहवल्दार रहेको महाशाखाका प्रमुख शहकुल थापाले बताए।।

‘यो समूह दिउँसोमै कार लिएर चोरी गर्न हिँड्ने गरेको थियो।’ थापाले भने ‘पछिल्लो पटक भत्केको पुलमा रहेको बालकुमार थपलियाको घरमा डेरा गरी बस्ने विष्णु कार्कीको कोठामा चोरी गरेपछि यो गिरोह समातिएको हो।’

कार्कीको कोठाबाट उनीहरुले २८ पुसमा दुई लाख रुपैयाँ नगद, २० तोला सुनका गहना र सामसुङ कम्पनीको एउटा मोबाइल चोरी गरेका थिए। थापाले भने, ‘अनुसन्धानका क्रममा उनीहरुले गोकर्णेश्वर–५ मा रहेको निश्चल सुनचाँदी पसलमा गहना बिक्री गरेको खुलेको छ।’

अनुसन्धानका क्रममा प्रहरीले एक लाख २५ हजार रुपैयाँसहित चोरीमा प्रयोग भएको कार्कीको नाममा रहेको बा ३ च ६२७६ नम्बरको गाडी पनि बरामद गरेको छ।

पक्राउ परेका चारै जनालाई चोरी मुद्दामा जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ। अदालतले अनुसन्धानका लागि ५ दिनको अनुमति दिएको छ।
 

प्रकाशित मिति: : 2020-02-03 02:38:33

प्रतिकृया दिनुहोस्