फेसबुकले थाल्याे कोरोना भाइरसका बारेमा गरिएकाे गलत जानकारीहरु हटाउने कार्य

चीनको मध्य क्षेत्रमा पर्ने वुहान शहरमा सवैभन्दा पहिले देखिएको कोरोना भाइरसको संक्रमण अहिले संसारका दुई दर्जनभन्दा बढी देशहरुमा फैलिइसकेको छ।

विश्वव्यापी बन्दै गइरहेको कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेहरुको संख्या शनिबारसम्ममा २ सय ५९ पुगेको छ। चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोना भाइरसबाट प्रभावित हुनेहरुको संख्या भने ११ हजार ७ सय ९१ पुगेको छ।

चिनियाँ संचार माध्यमहरुका अनुसार शुक्रबार मात्रै २१ सय २ जना नयाँ सङ्क्रमित भेटिएका छन् भने ५ हजार १९ जनालाई शंकाको घेरामा राखेर परिक्षण भइरहेको छ। 

यसैबीच अहिले सोसल मिडियाहरुमा यो भाइरसलाई जोडेर विभिन्न खाले त्रासदीपूर्ण खबरहरु तथा अफवाहहरु पनि फैलिन थालेका छन्। यस्ता अफवाह फैलाउने  गतिविधिलाई रोक्नका लागि फेसबुकले कदम चाल्ने भएको छ।

फेसबुकको स्वास्थ्य विभागका प्रमुख कांग जिंग जिनले एक फेसबुक पोष्ट गर्दै कोरोना भाइरसका बारेमा शेयर गरिएका गलत दाबी तथा जानकारीहरु  हटाउने काम गरिरहेका उल्लेख गरेका छन्।

साथै उनले  फेसबुकले स्वास्थ्य सम्बन्धी विश्वस्तरीय संस्थाहरु तथा राष्ट्रिय निकायहरुले गलत सामाग्रीको रुपमा वर्गीकरण गरेका कोरोना भाइरस बारेका गलत दाबी समेत हटाउन थालिएको बताएका छन्।

गतल सामाग्रीहरु हटाउन तथा प्रयोगकर्तालाई कोरोना भाइरसको बारेमा सजिलोसँग जानकारीहरु उपलब्ध गराउनका लागि फेसबुकले स्वास्थ्य संवद्ध संस्थाहरुसँग सहकार्य गरिरहेको जनाएको छ।

प्रकाशित मिति: : 2020-02-02 07:35:03

प्रतिकृया दिनुहोस्